फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ ।
केही समय अगाडी मात्रै नेपाल सरकारले सबैको रोजाईमा पर्न सफल मनोरञ्जनको एप टिकटक हटाएपछि टिकटक एप प्रयोगकर्ताहरु रन्थनीरहेका बेला मेटा कम्पनीले पनि अर्को झट्का दिने तयारी गरेको छ ।
बिभिन्न सामाजिक सञ्जालका एपहरु सम्बन्धित कम्पनीले बिस्तारै बन्द गर्ने भएको छ । मेटा एक अमेरिकी सामाजिक सञ्जाल र प्राविधिक कम्पनी हो । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ । योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् । मेटाले यो सुविधा तीन वर्षअघिबाट उपलब्ध गराएको थियो । मेसेन्जर र इन्स्टाग्राममा क्रस मेसेजिङ सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ मेटाले खुलाएको छैन ।
नाइन टू फाइभ गुगलको एक रिपोर्ट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताहरुले क्रस मेसेजिङका विषयमा अलर्ट प्राप्त गरिरहेका छन् । उक्त अलर्ट अनुसार डिसेम्बरको मध्यसम्ममा यो सर्भिस बन्द हुनेछ । यद्यपि यो सर्भिस बन्द भैसकेपछि पनि प्रयोगकर्ताले पूरानो च्याट हिस्ट्री भने हेर्न पाउनेछन् । क्रस मेसेजिङ बन्द भएसँगै प्रयोगकर्ताले नयाँ च्याट गर्न सक्नेछैनन् तर आएको मेसेज भने हेर्न सक्नेछन् । इन्स्टाग्राम जस्तै फेसबुकमा पनि यस्तै खालको अपडेट हुनेछ । अर्थात् फेसबुक प्रयोगकर्ताले पनि इन्स्टाग्राम प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछैनन् । मेटाले गत अगष्टमा क्रस मेसेजिङलाई पनि डिफल्ट रुपमा एण्ड टू एण्ड एन्क्रिप्टेड गरिने निर्णय गरेको थियो । ह्वाट्सएपको मेसेजमा भने यस्तो सुरक्षा पहिलेदेखि नै उपलब्ध थियो ।
मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्ने भएपछि समाजिक सञ्जालमा धेरैले आ–आफ्नो प्रतिक्रिया दिएका छन् । ‘केहिले समर्थन गरेर लेखेका छन्ः फेसबुक र इन्स्टाग्राम छुट्टा छुट्टै एप हो, यो क्रस सन्देशले अराजकता मात्र सिर्जना गरिरहेको थियो, फेस्बुकमा आएका जेसुकै पोस्टहरु इन्स्टाग्राममा सेयर गर्दा र इन्स्टाग्राममा आएका भिडियोहरु फेस्बुक मेसेन्जरमा सेयर गर्दा निकै नै अराजकता फैलिरहेको थियो, बन्द हुने भएछ राम्रै हुने भयो ।’ कतिले भने यो निर्णयको विरोध गरेका छन् । कुनै पनि समाचारहरु सेयर गर्नका लागि असहज हुने बताएका छन् ।
यस अघि मेटाले कम्पनीले आम्दानी धरासायी बन्दै गएको भन्दै आफ्नो ११ हजार कर्मचारी कटौती गर्ने निर्णयसमेत गरेको थियो ।
यस अघि नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको “भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गरेको थियो । नेपालमा ज्यादै लोकप्रिय चिनियाँ एप सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउदा चौतर्फी आलोचना भएको थियो भने दजनौंभन्दा बढि सर्वोच्चमा रिट दायर भएको थियो ।