राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हातमा हत्कडी लगाउन आफू तयार भएर बसेको बताएका छन् ।
सोमबार चितवनको नारायणगढमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले आफूले गरेको गल्तीको सजाय भोग्न तयार भएको बताउँदै हत्कडी लगाउन पछि नहट्ने बताएका हुन् ।
यस क्रममा लामिछानेले हाल बन्द भएको ग्यालेक्सी टेलिभिजन (टिभी)मा जीबी राईको लगानीबारे बोलेका थिए । उनले टिभीमा लगानी लगाउँदा पीडितको खर्च भए आफू लड्ने बताए ।
‘मैले लिएको भए एक करोडको ‘लोन’ तिर्न पाउनु पर्यो, पीडितहरूको एक–एक पैसा फिर्ता नहुँदासम्म लड्ने दायित्व मेरो हो,’ उनले भने, ‘म सदस्य नभएको सहकारीबाट कसरी लोन लिन सक्छ ?’
सभापति लामिछानले आफूविरुद्ध कान्तिपुर पत्रिकाले योजनाअनुसार लखेट्न समाचार बनाएको आरोप लगाए । ‘जुन टेलिभिजन मैले छाडेको डेढ वर्ष भयो, त्यसपछि सहकारी समस्या आयो, सहकारीको समस्याले लगानीकर्ताहरू भाग्नु पर्ने अवस्था आयो, त्यसपछि टेलिभिजनमा समस्या आयो,’ उनले भने, ‘मैले छाड्दा सबै बुझाएर, टेलिभिजनबाट नै भनेर छाडेको हुँ।’
लामिछानेले आफू हुँदासम्म टिभीमा कुनै समस्या नआएको बताउँदै सबैसँग सहज वातावरण बनाएर निस्केको बताए । उनले जीबी राईसँग ग्यालेक्सी टिभीबाहेक कुनै संस्थामा सहकार्य नभएको दाबी गरे ।