Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

बालकुमारीमा मारिएका सुजन पहिलोपटक आएका थिए काठमाडौं


शुक्रबार बालकुमारीमा मारिएका दैलेखका सुजन रावत पहिलोपटक काठमाडौं आएका थिए । बुबाको वर्षदिनको काम सकेर दुई हप्ताअघि मात्रै काठमाडौं आएका सुजनको सपना कोरिया जाने थियो ।

ब्रेन ट्युमरको रोगबाट ग्रसित उनका बुबाको अघिल्लो वर्ष मंसिरमा निधन भएपछि परिवारको जेठो छोरा सुजनको काँधमा पारिवारिक जिम्मेवारी थियो । बुबाको उपचारमा लागेको ठूलो ऋण एकातिर थियो भने पढाई र अन्य घरायसी ऋणको भारी अर्कातिर । त्यो ऋण तिर्न नेपाल बसेर सम्भव देखेनन् उनले । आर्थिक बोझ पार लगाउँन बिदेसिनुको बिकल्प नभएको निष्कर्षमा पुगेपछि कोरियन भाषा पढ्नका लागि उनी काठमाडौं आए । करिब दुई हप्ताअघि काठमाडौं आएका उनी दहचोकमा बस्थे । अरु साथीसँगै कोरियन भाषा पढ्नका लागि उनी शुक्रबार पनि सदा झैं दहचोकबाट बागबजार गए । बागबजारको क्लास सकिएपछि घुम्न जाने योजना थियो साथीहरुको ।

उनका एक साथीले बताए अनुसार बागबजारबाट घुम्नका लागि सिधै कतै जाने सल्लाह भइरहेका बेला उनले ठूलो बुबाका छोरा सजन रावतलाई फोन गरे । सजन ललितपुरको ग्वार्कोस्थित इपिएस शाखामा रहेछन् । अघिल्लो दिन बिहिबार मात्रै दाई सजन इपिएस शाखाको फर्म भर्न काठमाडौं आएकाले उनलाई पनि भेटेर घुम्न जाऔं न भन्ने सल्लाह साथीहरुसँग गरेपछि उनीहरुको यात्रा बागबजारबाट बालकुमारीतिर सोझियो । तर, उनीहरु बालकुमारी पुग्दा त्यहाँको अवस्था अस्तव्यस्त थियो । दाई सजन सहित धेरै युवाहरु इपिएस शाखाको गेटभित्र प्रवेश गर्न चाहिरहेका थिए । तर, प्रहरीले दिइरहेको थिएन । त्यहाँको अवस्था देखिसकेपछि उनीहरु त्यहाँबाट हिँड्न लागे । तर, एक्कासी प्रहरीको लाठी र अश्रुग्याँस शुरु भयो । मन्त्री प्रकाश ज्वाला चढेको गाडी आगजनी गरिएको आक्रोशमा बालकुमारी क्षेत्रमा प्रहरीले अन्धाधुन्ध लाठी र अश्रुग्याँस प्रहार गर्न शुरु गरेको थियो । सुजन सहितका साथीहरु घुम्न जाने आफूहरुको पूर्वनिर्धारित कार्यक्रम अनुसार बालकुमारीबाट आफ्नो बाटो लाग्न शुरु गरिसकेका थिए । तर, प्रहरीहरुको लाठी, अश्रुग्याँस र चलेको गोलीले गर्दा माहोल फरक भयो । सुजन सडकको किनारामा ढले । उनलाई प्रहरीको लाठीले ढलायो, गोलीले ढलायो या अश्रुग्याँसले त्यो अनुसन्धानकै क्रममा छ । तर, प्रहरीबाटै उनी मारिएकोमा भने शंका छैन । उनको शरीरमा गोली नदेखिएको र छाती तथा ढाडमा ठूला ठूला निलडाम भएका कारण गोलीले नभई लाठीले मारिएको अनुमान गरिएको छ ।

यही बीचमा काका पर्नेसँग केही समयअघि मात्रै सुजनको म्यासेज भएको स्क्रिनसट यतिबेला समाजिक सञ्जालमा भाइरल भएको छ । जसमा सुजनले काकालाई एकजोर कपडा किनिदिन भनेका छन् । लोकेन्द्र रावत नाम गरेका उनका काकासँग एकजोर कपडाका लागि उनले गरेको आग्रह र कपडा किन्ने हैसियतमा समेत नरहेका सुजनको म्यासेजले धेरैलाई अहिले भावुक बनाएको छ । काका लोकेन्द्र रावत आफैंले सामाजिक सञ्जालमा उक्त स्क्रिनसटसहितको स्टाटस लेख्दै भनेका छन् : एक जोर कपडा ठूलो रिन भयो यार छोरा म माथि ।


प्रतिक्रिया दिनुहोस !
विचार