सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा झडप हुँदा मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले राहतस्वरुप दश लाख रुपैयाँ दिने भएको छ । आज (शनिबार) गृहमन्त्रायले एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।
त्यसै गरी गृह मन्त्रालयले उक्त घटनाको सत्यतथ्य छानविन गर्नका लागि गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।
शुक्रवार वरहथवा नगरपालिका ५ मा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिनका लागि अश्रुग्याससहित गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर ३० वर्षीय साहको मृत्यु भएको थियो ।
झडपमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीतर्फ सात जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । घाइतेहरुको उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।