Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

राप्तीले बगायो दीपक कामीको सपना


राप्तीले बगायो दीपक कामीको सपना । दुई वर्ष अगाडी मात्रै विवाह गरेर ६ महिनाका काखे छोरा छोडी विदेश जान हिँडेका रुकुम पश्चिम आठविसकोट नगरपालिका–६ होली गाँउका दीपक कामी शुक्रबार दाङको भालुवाङस्थित राप्ती पुलमा बस दुर्घटना हुँदा उनको मृत्यु भएको छ।

दिपक कामी छोराको भविष्य, श्रीमतीको खुसी र दिदीको सपनासँगै आफ्नो सपना पुरा गर्नका लागि विदेश जान भनि शुक्रबार राति नेपालगञ्जबाट रात्री बस चढेर काठमाडौं हिँडेका दिपकको त्यो विदेश जाने सपना अधुरै रह्यो । धेरै ऋण भएका कारण उनी बाध्यताले विदेश जान लागेका थिए । म्यानपावर कम्पनीले तपाईँको भिसा आईसकेको छ छिट्टैै मेडिकल गर्न आउनुस् भनेर बोलाएपछि उनी हतारहतार गरी शुक्रबार राति नेपालगञ्जबाट रात्री बस चढेर काठमाडौं हिँडेका थिए।

म्यानपावरले भिसा आइसक्यो भनेर फोन गरे पनि उनले घरमा सानो बच्चा भएकाले सुरुमा अहिले नै विदेश नजाने भनेर म्यानपावरलाई जवाफ दिएका थिए । तर, म्यानपावरले भिसा आइसकेको छ अहिले रिजेक्ट गर्दा पछि अफ्ठ्यारो हुन्छ अहिले नै आउनुहोस् मेडिकल छुट्छ, छिटो आईहाल्नुस् भनेर बारम्बार बोलाएपछि उनी, बाध्य भएर मेडिकल गर्ने र जानुपरिहाले काठमाडौंबाटै विदेश उड्ने भनी छोरा र श्रीमतीलाई भेनाजुको घर नेपालगञ्जमा छोडेर काठमाडौं हिँडेका थिए । उनका भिनाजु उत्तम कलेल आठविसकोट–६ का पूर्ववडाध्यक्ष हुन् । भिनाजु उत्तमका अनुसार मेडिकल रिपोर्ट राम्रो आए काठमाडौंबाट नै उड्ने तयारीका साथ गाँउका केहि व्यक्तिसँग सापटी पैसा लिएर दिपक काठमाडौं हिँडेका थिए । दीपकको परिवारमा एउटी दिदी, श्रीमती र एउटा छोरा छन् । दिदी भारतमा बस्छिन् । दीपकको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि उनकी दिदी भारतबाट रुकुम आउँदैछिन्। दिपकको मृत्युपछि उनकी श्रीमती अर्धचेत अवस्थामा छिन् ।

भिजा लगाएर उनी केही दिन अगाडी श्रीमती र छोरालाई लिएर बाँफिकोट गाउँपालिका–६ खारखारा ससुराली गएका थिए । ससुरालीबाट फर्किएपछि घर पनि नपुग्दै उनी नेपालगञ्जबाट काठमाडौं हिँडेका थिए ।
शुक्रबार राती साढे १० बजेतिर बाँकेको नेपालगंजबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिकास्थित राप्ती नदी पुलबाट खसेको थियो । बस खस्दा दीपक सहित १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । यो समाचार तयार पादासम्म मृतकमध्ये ८ जनाको परिचय खुलेको छ भने तीनजना पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

मृत्यु हुनेहरूमा बाँके नेपालगंजका ६० बर्षीया कुसुम बनेत, मकवानपुर हेटौडाका ३९ बर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का ६५ बर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ बर्षीय मुने, जुम्लाको श्रीढुम्का – ९ का ४० बर्षीय मुनबहादुर रावत, बाँकेका ३० बर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस – ९ का २५ बर्षीय दीपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ बर्षीय योगेन्द्र राम छन्।

त्यस्तै नाम थर र वतन नखुलेको अन्दाजी ३५ बर्षीय पुरुष, ५२ बर्षीय पुरुष, ३० बर्षको पुरुष र ४५ बर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएका छन् । दुर्घटनाका घाइते मध्य १४ जनालाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेज, ७ जनालाई बुटवल र दुई जनालाई दाङमै रोखेर उपचार गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

१२ जनाको शव लमहीको शवगृहमा राखिएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार