लिटिल बुद्ध भनेर चिनिने रामबहादुर बम्जनको दैनिकी जेलभित्र टिभी हेरेर बित्ने गरेको छ । गत पौष २४ गते हत्या, मानव अपहरण तथा बेपत्ता, बाल यौनशोषणको आरोपमा पक्राउ परेका बम्जनको दैनिकी जेलभित्र टिभी हेरेर बित्ने गरेको कारागार स्रोतले जनाएको छ । उनी कसैसँग पनि बोल्दैनन् । जेलभित्रपनि उनले सेतो वस्त्र नै लगाउने गरेका छन् ।
बम्जनलाई उनकै घर बुढानिकण्ठ नगरपालिका–६ बाट सिआइबीको टिमले पौष २४ गते पक्राउ गरेको थियो । पक्राउ परे लगतै उनलाई २५ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेपश्चात सर्लाही कारागारमा उपस्थित गराइएको थियो । कारागार स्रोतका अनुसार जिल्ला कारागार सर्लाहीको भवन बनिरहेको हुनाले उनलाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखिएको छ ।
अहिले बम्जन पुर्पक्षका लागि कारागार कार्यालय महोत्तरीमा छन् । बम्जनलाई जेलभित्र छुट्टै व्यवस्था गरिएको छ । उनको छुट्टै भान्सा देखि खानपिनमा के खाने के नखाने सबै व्यवस्था गरिएको छ ।
बम्जनले जेल भित्रको ‘आन्तरिक प्रशासन’लाई आफूलाई छुट्टै सहयोग गर्न आग्रह गरेका कारण उनकै आग्रह अनुसार छुट्टै भान्सा सञ्चालन गर्न अनुमति दिइएको जलेश्वर कारागार स्रोतले जनाएको छ । उनलाई खाना बनाइदिनका लागि छुट्टै भान्से खटाइएको छ । कैदी मध्यकै एकजना नाइके नरवीर लामाले बम्जनलाई खाना बनाएर खुवाउँछन् ।
लामाले बम्जनका लागि लसुन प्याज नहाली छुट्टै भान्सामा खाना बनाइदिने गरेको कारागार स्रोतले बताएको छ । उनले लसुन र प्याज हालेको तरकारी खादैनन् । लसुन र प्याज बाहेक उनी अन्य कैदीले जस्तै दाल र भात खान्छन् । कारागार प्रशासनको अनुमतिमा नाइके नरवीर बम्जनको सहयोगीका रुपमा खटिएका हुन् ।
पक्राउ परेका केहीदिनसम्म बम्जनलाई भेट्ने अनुयायीहरुको भिड नै लाग्ने गरेको थियो । कारागारका अनुसार उनले सुरुसुरुमा सबै अनुयायीहरुसँग भेटघाट पनि गरेका थिए । तर, पछिल्लो समय उनले कसैसँग पनि भेट गरेका छैनन् । उनलाई भेट्न आउनेहरुलाई भेट्न इन्कार गरेका छन् । कसैलाई पनि भेट्न मानेका छैनन् ।
बम्जन बस्ने कोठामा अरू ४ जना नाइकेहरू पनि बस्छन् । तर, ती नाइकेहरुसँग पनि बम्जन नबोली आफ्नै सुरमा टिभी मात्रै हेरेर बस्ने गरेका छन् । उनलाई हत्या, मानव अपहरण तथा बेपत्ता, बाल यौनशोषण लगाएत आरोपमा मुद्धा परेको छ ।
पक्राउका समयमा उनको घरबाट प्रहरीले विभिन्न १७ देशका मुद्रा फेला पारेको थियो । नेपाली रुपैयाँ मात्रै तीन करोड तीन लाख ७५ हजार रुपैयाँ रहेको थियो । प्रहरीले उनीसँग भएको महंगो गाडीदेखि लिएर क्रसफायर बाइक, ३९० सिसी केटिएम डुक, यामाहा रे, जेड आर स्कुटर लगाएतका सवारी साधन, १४ वटा मोबाइल, ल्यापटप र ७ वटा आइप्याड, २० वटा पेन ड्राइभ बरामद गरेको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार उनले एउटा कम्पनीलाई ५ करोड रुपैंयाँमा ल्याण्डक्रुजर गाडी किन्नका लागि केही समयपहिले मात्रै ३ करोड रुपैंयाँ पेश्की बुझाइसकेका थिए । उनीसँग यी कुनै पनि सम्पति र रकमको स्रोत के हो भन्ने बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।