Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

राष्ट्रिय गौरवका सिँचाई आयोजना निर्माणमा बजेटको कमी हुन दिन्नँः मन्त्री बस्नेत


ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका सिचाई आयोजना निर्माणमा बजेटको कमी हुन नदिने बताएका छन् ।

आज (शुक्रबार) सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले बिभिन्न सिँचाई आयोजनाहरु लामो समयदेखि निर्माणाधिन रहेको भन्दै उक्त आयोजनाहरुलाई बजेटको कमी हुन नदिने बताएका हुन् ।

बस्नेतले सिँचाई आयोजना निर्माणलाई निरन्तरता दिइएको र पूर्ण रुपमा सम्पन्न नभएपनि जनताले भने त्यसबाट लाभ लिइरहेको बताए । मन्त्री बस्नेतले राष्ट्रिय गौरवका सिचाई आयोजना निर्माणमा केहि ढिलाई भएकाले समय तोकेरै सम्पन्न गर्नेगरि काम अघि बढेको धारणा राखे ।

त्यस्तै उनले सुख्खा याममा विधुतको आयात घटाउन उत्पादन बढाउनुपर्ने र जलाशययुक्त आयोजनाहरुमा ध्यान दिनुपर्ने बताए । जलाशययुक्त आयोजनाहरु निर्माण गर्दा लागत महङ्गो हुन जाने र नाफा पनि कम हुने भएकाले त्यस्ता आयोजनामा लगानी आकर्षित गर्न नसकिएको मन्त्री बस्नेतको भनाई छ ।

समिति सभापति दिल कुमारी रावलले राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी हुन नदिने प्रतिवद्धता सरकारबाट आएपनि बजेट अभावको गुनासो आउने गरेकाले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसंग छलफल गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार