Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

लामिछाने मुछिएको सहकारी घोटला अनुसन्धानका लागि सिआइबीले फाइल झिकायो


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटाला सम्बन्धी अनुसन्धानका लागि सिआइबीले फाइल झिकाएको छ । ग्यालेक्सी टिभीका सञ्चालक जिबी राई, रास्वपा सभापति रवि लामिछाने लगाएतका व्यक्तिहरु मुछिएको सहकारी प्रकरणको फाइल सिआइबीले झिकाएको खबर सार्वजनिक भएसँगै अब के होला भन्ने आम कौतुहलता यतिबेला सर्वत्र देखिएको छ ।

रवि लामिछाने , जिबी राई लगाएतका विरुद्ध सहकारी विभागमा युवराज सफलले उजुरी दिएको केहीदिनमा नै सिआइबीले अनुसन्धानका लागि फाइल मगाएको हो । सिआइबी स्रोतका अनुसार बुटवल स्थित सुप्रिम बचत, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगञ्जको सानो पाइलाबारे स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँमा झिकाएको छ ।

यस्तै काठमाडौँस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी घोटाला सम्बन्धी फाइल पनि सिआइबीले हेरिरहेको बुझिएको छ । विभिन्न सहकारीबाट ग्यालेक्सी टिभीको माउ कम्पनी गोर्खा मिडिया नेटवर्कको खातामा करौडौं रुपैंयाँ ट्रान्सफर भएको र उक्त रकम रवि लामिछानेको नामबाट समेत ट्रान्सफर गरिएको भन्दै रवि लामिछानेको व्यापक आलोचना भइरहेको छ ।

लामिछाने सहितका व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग युवराज सफल सहितका केही अभियन्ताहरुले गरिरहेका छन् भने ठूला राजनीतिक दलका विद्यार्थी संगठनले पनि लामिछानेलाई कारबाही गर्नुपर्ने बताइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार