Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

पूर्वराजालाई प्रसाईले दिए निम्तो


राजसंस्था र हिन्दू राष्ट्र पक्षधर अभियन्ता दुर्गा प्रसाईले बाराको सिमरा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो अभियानको वार्षिकोत्सवका लागि निम्तो दिएका छन् । पूर्वराजा शाहकै हातबाट अघिल्लो वर्ष झापाको मेची पुलमा पानसमा बत्ति बालेर अभियान शुरु गरेका प्रसाईले अभियान एक वर्ष पुगेको अवसरमा काठमाडौंमा पूर्वराजालाई अभिनन्दन गर्ने कार्यक्रम समेत राखेका छन् । सोही कार्यक्रममा आइदिन भन्दै पूर्वराजा शाहलाई भेट्न प्रसाई सोमबार बिहान सिमरा पुगेका थिए । अघिल्लो दिनमात्रै प्रसाईले काठमाडौंको हनुमानढोकामा गएर पूजापाठ गरेका थिए भने वसन्तपुर क्षेत्रमा पूर्वराजाको नागरिक अभिनन्दन गरिन लागिएको बताएका थिए । फागुन १ गते काठमाडौंबासीका तर्फबाट पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिने बताउँदै उनले जिल्ला प्रशासन कार्यालयसँग वसन्तपुरको कार्यक्रमका लागि अनुमति लिन खोज्दा नदिने षडयन्त्र भएको आफूले सुनेको बताएका थिए । वसन्तपुरमा दलहरुका कार्यक्रम गर्न अनुमति दिने तर, आफूहरुको कार्यक्रम चाहिँ गर्न दिइएन भने जनताले दलहरुलाई नछाड्ने उनको भनाई थियो ।

फागुनबाट निर्णायक आन्दोलन गर्ने बताउँदै आएका प्रसाईले पूर्वराजासँग भेटेको कुरालाई सामाजिक सञ्जालमा अर्थपूर्ण भनी पोष्ट गरेका छन् । पूर्वराजा शाहसँग सिमरामा भेटेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन् : ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले प्रसाई नेतृत्वको अभियान भनेर आफू कार्यक्रममा आउन नसक्ने तर, नागरिक अभिनन्दन भन्दा आउन सक्ने बताएको प्रसाईको सचिवालय स्रोतले जनाएको छ । पूर्वराजाको उक्त प्रस्तावपछि प्रसाईले त्यसोभए नागरिक अभिनन्दन भनेरै कार्यक्रम गर्छौं नि त सरकार भनेर पूर्वराजालाई आश्वस्त पारेका थिए । नागरिक अभिनन्दनमा आफू सरिक हुने वचन पूर्वराजा शाहले दिएपछि प्रसाईले आफू मातहतका कार्यकर्ताहरुलाई तयारीमा जुट्न निर्देशन दिइसकेका छन् ।

पूर्वराजाले प्रसाईसँग प्रसाई नेतृत्वको अभियानका बारेमा पनि चासो लिएको प्रसाईको सचिवालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पूर्वराजालाई प्रसाईले आफूहरुको अभियान देशका अधिकांश जिल्लामा विस्तार भइसकेको बताएका थिए । अभियानमा मान्छेहरु जोडिने क्रम तिव्र रुपमा रहेको कुरा प्रसाईले पूर्वराजालाई बताएपछि पूर्वराजाले खुसी भावमा मुन्टो हल्लाएका थिए ।

पूर्वराजासँग भेट गरेपछि प्रसाईले केही सञ्चारमाध्यममा भेटको सन्दर्भबारे प्रतिकृया दिएका छन् । पूर्वराजा शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगाएतसँग केहीदिन पहिले भेट गरेको भएपनि राजाले उनीहरुलाई विश्वास नगर्ने प्रसाईको भनाई थियो । राप्रपाका मान्छेहरुको दोहोरो चरित्रबारे पूर्वराजा ज्ञानेन्द्र शाह जानकार रहेको भन्दै उनले पूर्वराजाले त्यसबारे आफूसँग खास कुरा नगरेपनि राजाको हाउभाउबाटै धेरै कुरा बुझ्न सकिने उनले दाबी गरे । राप्रपाले दोहोरो चरित्र त्यागेको खण्डमा कार्यगत एकताका लागि भने आफू तयार रहेको प्रसाईले बताए ।

यसअघि आइतबार मात्रै प्रसाईले अभिनेत्री मनीषा कोइरालासँग भेट गरेको तस्बीर पनि सार्वजनिक गरेका थिए । प्रसाईँले मनीषा कोइरालासँगको फोटो सामाजिक सञ्जालमा हाल्दै उक्त भेटलाई पनि अर्थपूर्ण भनेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार