Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

पक्राउ लगत्तै बिनोद चौधरीका भाईलाई लगियो अस्पताल, के भएको हो खास ?


बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा पक्राउ परे लगत्तै अर्बपति बिनोद चौधरीका भाई अरुण चौधरीलाई अस्पताल लगियो । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने व्यक्तिलाई अस्पताल लगिएको भन्दै केहीले सामाजिक सञ्जालमा बिरोध पनि गरे । हिरासतको बसाई छल्नका लागि यसो गरिएको भन्दै उनीहरुले बिरामीको बहाना पहुँचवालाहरुको रेडिमेड आइडिया भएको आरोप लगाए । बिगतमा पनि पहुँचवालाहरुले यस्तो आइडिया लगाएका कारण पछिल्ला दिनमा पक्राउ परेर अस्पताल पुग्ने जो कोहीमाथि यस्तो आरोप लाग्ने गरेको छ । बिगतलाई हेर्ने हो भने पक्राउ पर्नुअघिसम्म ठिकठाक रहेका मध्ये कतिपयको पक्राउ लगत्तै खपिनसक्नु तरिकाले मुटु दुख्छ , कतिको खपिनसक्नु तरिकाले पेट दुख्छ अनि कतिको फुट्ला झैं गरी टाउको दुख्छ । अरुण चौधरीलाई पक्राउपछि के भएर काठमाडौंको चिरायु अस्पताल लगियो त्यो खुलेको छैन । तर, उनलाई पक्राउपछि हिरासत नभई अस्पताल लगिएको कुराले भने यतिबेला सामाजिक सञ्जाल तातिएको छ ।

पक्राउ परेका व्यक्तिले म बिरामी छु अस्पताल जान पाउँ भनेपछि प्रहरीले नमानी सुखै पाउँदैन । प्रहरीले पक्राउ परेका व्यक्तिको मानवअधिकारको सम्मान गर्नैपर्छ । बुझिए अनुसार अरुण चौधरीलाई ठूलो समस्या भएर होइन सामान्य जाँचका लागि अस्पताल लगिएको हो । तर, अरुण चौधरीलाई अस्पताल लगिएको कुरालाई भने कतिपयले उनको पहुँचसँग जोडेका छन् । हिरासतको बसाई छल्नका लागि अरुणले लगाएको आइडिया भनेका छन् । त्यसो त अरुण चौधरीलाई मात्रै होइन अरुण चौधरीसँगै सोही प्रकरणमा पक्राउ परेका अजितनारायण सिंह थापालाई पनि अस्पताल लगिएको छ । अस्पताल लैलानुपूर्व उनीहरुलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो । जिल्ला अदालत काठमाडौंले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनीहरु दुबैजनालाई हिरासत लैजानुअघि अस्पताल लगिएको हो ।

बाँसबारी छाला जुत्ताको १० रोपनी सरकारी जग्गा २०४२ सालदेखि पटकपटक गरी कौडीका भाउमा व्यक्तिका नाममा ल्याएको उनीहरुमाथि आरोप छ । सोही आरोपमा सिआइबीको टोलीले बिहिबार एकैसाथ उनीहरुलाई फरक फरक ठाउँबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका अरुण चौधरी अहिले ६२ वर्षका भए भने अजितनारायणसिंह थापा ८२ वर्षका । दुबैजनाले उच्च रक्तचापको औषधी सेवन गर्ने गरेको र पक्राउपछिको तनाबका कारण रक्तचाप अझ बढ्न सक्ने भन्दै उनीहरुलाई अदालतबाट सिधै अस्पताल लगिएको बुझिएको छ । चार दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले दिएको समय अस्पतालमै सकियो भने त्यसपछि अनुसन्धानका लागि प्रहरीले फेरि म्याद थपका लागि अदालत लैजान्छ । कतिपय अवस्थामा अदालतले म्याद थप गर्न इन्कार गरेका उदाहरणहरु पनि नभएका होइनन् ।

अब यो प्रकरणमा के हुन्छ त्यो भोलिका दिनमा नै थाहा होला । तर, बाँसबारी छाला जुत्ता कारखाना त उहिल्यै सिद्दियो सिद्दियो , त्यसको जग्गा पनि कौडीका भाउमा सिद्दिएको र त्यसमा अहिले उच्च घरानाका व्यवसायीहरुको हालीमुहाली रहेको कुराले भने धेरैलाई आक्रोशित तुल्याएको छ । २०४३ सालमा सरकारी मूल्यांकन भन्दा पनि निकै कम मूल्यांकन गरी उक्त जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । अरुण चौधरी सहितको नाममा भएको उक्त फुटवेयर अहिले अस्तित्वमा छैन । तर, उक्त जग्गामा अहिले चौधरी ग्रुप फाउण्डेसनले चाँदबाग स्कुल चलाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार