Logo
२०८१, २३ भाद्र आईतवार
|  Sun Sep 8 2024

अरुण चौधरीको रोग के हो ? चिरायुपछि लगियो ग्रायण्डी


बिहिबार मात्रै पक्राउ परेका बिनोद चौधरीका भाई अरुण चौधरी अहिले प्रहरी हिरासतमा होइन नेपालकै सुविधा सम्पन्न मध्येको एउटा हस्पिटल ग्रयाण्डी छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना आरोपमा सिआइबीको फन्दामा परेका अरुणलाई बिहिबार चिरायु अस्पताल लगिएपनि त्यहाँ उनको उपचार हुन सकेन । चिरायुले उनलाई उनकै चाहना बमोजिम ग्रयाण्डी हस्पिटल रिफर ग¥यो । प्रहरी अधिकारीहरुका अनुसार पक्राउ पर्नुअघि सम्म अरुण ठिकठाक थिए । तर, पक्राउ परेलगत्तै उनी बिरामी परे । पहिलेदेखि नै उच्च रक्तचापको औषधी सेवन गर्ने गरेको भएपनि उनमा त्यस्तो ठूलो रोग देखिएको थिएन । तैपनि पक्राउ परेपछि यस्तो अवस्था आइलाग्यो कि प्रहरीले उनलाई अस्पताल भर्ना नगरी सुखै पाएन ।

हुन त राजनीतिमा लागेका पहुँचवालाहरु होऊ्न या धन सम्पत्तिले पहुँच विस्तार गरेकाहरु होउन् उनीहरु सबैलाई पक्राउ पछि अज्ञात रोग लाग्ने गरेको छ । अरुण चौधरीका हकमा पनि अहिले के रोग हो त्यसबारे केही कुरा सार्वजनिक भएको छैन । उनलाई लागेको रोगबारे न त बिहिबार राती भर्ना गरिएको चिरायु अस्पतालले केही जनाएको छ न त शुक्रबार भर्ना गरिएको ग्रयाण्डी अस्पतालले नै । बरु ती अस्पतालहरुमा सम्पर्क गर्दा बिरामीको गोप्यता भंग गर्न नहुने जानकारी गराइएको छ । बिरामी र उनका आफन्तको सहमति बेगर केही भन्न नमिल्ने बताउँदै अस्पतालहरुले बिरामीको अवस्थाका विषयमा जानकारी दिन नमिल्ने जनाएका छन् । यद्यपि प्रेसरको औषधी सेवन गर्दै आइरहेको कुरा भने सार्वजनिक भएको छ ।

बिहिबार पक्राउ परेको केहीबेरमा अरुण चौधरीलाई थुनामा राखी अनुसन्धान गर्ने थप अनुमतिका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो । अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको भएपनि उनी बिरामी भएको भनेपछि थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई मिलेको छैन । प्रहरीले उनीमाथि अनुसन्धानका लागि अदालतबाट ४ दिनको समय पाएपनि त्यो ४ दिन त्यतिकै गुजार्ने नियत अरुण चौधरीको भएको हुन सक्ने केहीको आंकलन छ । यद्यपि बिरामी भनेपछि प्रहरीले अनुसन्धान होइन उनको उपचारलाई प्राथमिकतामा राखेको छ । त्यहीभएर प्रहरी उनलाई लिएर कहिले चिरायु अस्पताल पुगेको छ त कहिले ग्रयाण्डी अस्पताल । तर, सुविधा सम्पन्न अस्पतालमा लैजादा पनि न त उनको रोग के हो भन्ने कुरा पत्ता लागेको छ न त रोग बिसको उन्नाइस नै भएको सुनिएको छ । बरु अदालतले दिएको ४ दिनको म्याद चाहिँ सकिँदो छ ।

हुन त अदालतको म्याद गुजारेकै भरमा बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा तानिएकाहरुले उन्मुक्ति नपाउलान् । तीन तीन महिनाको अनुसन्धानपछि पक्राउको निष्कर्षमा पुगेको प्रहरीले अनुसन्धानका अरु उपाय पनि अपनाउला । तर, ठूला र पहुँचवालाहरु पक्राउ परेपछि बिरामी परिहाल्ने कुराले भने आशंका उब्जाएको छ ।

बिहिबार लाजिम्पाटबाट पक्राउ परेका अरुण चौधरी अहिले जुन हस्पिटलमा छन् र जहाँ छन् । उनको स्वास्थ्यमा जस्तो प्रकारको खराबी आएको छ र जे देखिएको छ । त्यसमा सुधार होस् । उनी निको होऊ्न । अनि उनले अनुसन्धानमा प्रहरीलाई सघाउन् । र, बाँसबारी छाल जुत्ता जग्गा प्रकरणको वास्तविकता बाहिर आओस् । यतिबेला जनजनको इच्छा यही छ ।


प्रतिक्रिया दिनुहोस !
विचार