हेक्का रहोस् ! तितो छ तर यथार्थ यही नै हो । म स्पष्ट छु, तपाई पनि स्पष्ट हुनैपर्छ । राजा देखि दरबार सम्म र राष्ट्रवादी देशभक्तहरु पनि स्पष्ट बुझ्नै पर्ने र सोच्नै पर्ने बेला भएको छ । भ्रमको व्यापार र नामको प्रयोगलाई पूर्णविराम लगाउनै पर्ने हुन्छ । “मनोगतवादमा आधारित भ्रमवादलाई चिर्दै यथार्थतावादलाई अवलम्बन गर्नु नै आजको आवश्यकता हो र त्यसमै सबैको कल्याण छ ।“
अनुभव र घटनाक्रमहरुको आधारमा ठोकुवा साथ पुनः भन्दैछु । “राप्रपा“, “राजा“, “देश“, “जनता“, “नैतिकता“, “आदर्श“, “सिद्धान्त“, “बिचार“, “भ्रष्टाचार विरुद्धको आवाज“, “ईमानदारिता“, “प्रतिबद्धता“, “राष्ट्रवाद“, “देशभक्ति“ लगायतका विषयवस्तुहरु एकदमै भिन्न र परस्पर विरोधी हुन् । “राप्रपा“ को DNA मै उपरोक्त विषयहरु छैन्न, जो विगतका (स्थापनाकाल देखिका नै) विभिन्न घटनाहरुले पनि पटकपटक प्रमाणित नै गर्दैआएको छ । र विगत एक वर्ष देखिको तथाकथित “नयाँ नेतृत्व“ को सम्पूर्ण गतिविधिहरुको पनि सुक्ष्म विश्लेषणात्मक शल्यक्रिया गर्ने हो भने पनि पुनः पुनः प्रमाणित नै हुन्छ ।
“राज संस्था“ समर्थक भएकै कारण यदि कोहि “राप्रपा“ तिर लम्किन्छ भने त्यो ती ब्यक्ति र समुहको सबैभन्दा ठुलो भुल नै हुनेछ । उदाहरणका लागी, त्यसले स–सशस्त्र प्रहरी बलका पुर्व अतिरिक्त महानिरिक्षक तथा नेपाल नागरिक अभियानका संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्यसम्पादन समिति सदस्य बौद्धिक राष्ट्रवादी देशभक्त ब्याक्तित्व डा. ठाकुर मोहन श्रेष्ठ जस्तै अमानवीय, गैरराजनीतिक, असंवेदनशिल, आपराधिक ब्यक्तिगत, सामाजिक, राजनीतिक, भौतिक एवं ब्यवहारिक अपमान, आक्रमण, ब्यवहार झेल्नु र भोग्नुपर्ने हुन्छ नै । र यो यथार्थलाई जतिसक्दो छिटो त्यहाँ रहेका मिसिएका रविन्द्र मिश्रहरु जस्ता तल्लो कमिटीहरु देखि माथिल्लो कमिटीसम्मका अन्य थुप्रै राष्ट्रवादी ब्यक्ति, ब्याक्तित्वहरुले बुझे भविष्यको अपमान एवं हिन्तावोधलाई निरुत्साहित गर्ने अवसर मिल्ने छ ।त्यति मात्रै कहाँ हो र ?
जातिवाद, अर्थवाद, दामवाद, नश्लवाद, क्षेत्रीयतावाद, वंशवाद, परिवारवाद, मनोगत–वर्चस्ववाद, स्तरहिन प्रतिस्पर्धावाद, खाउ–पकाउवाद लगायतका घृणित सोच, व्यवहार, गतिविधि, क्रियाकलाप ले यतिसम्म जडो गाडेको छ कि त्यसको मापन–नापन गर्न प्राय असम्भव नै छ ।
“राप्रपा“ ले राजसंस्था सहितको हिन्दु राष्ट्र पुनः गराउछ भनेर आश गर्नु वा भर पर्नु र बाछो ब्याउँछ र कुराउनी खाउँला भनेर आशा र भरोसा गर्नु उस्ताउस्तै हो । राजा र राजपरिवारका सदस्यहरुलाई आफ्नो पार्टीको मानार्थ केन्द्रिय सदस्य जतिको पनि सम्मान दिन नसकेकोले भाषणमा जतिसुकै चर्को कुरा गरे पनि त्यसको वास्तविकता भनेको फोटो व्यापार र नाम प्रयोग कै माध्यमले पार्टी संगठन निर्माण, विस्तार देखि पदलोलुप्ता नै हो । सत्य तितो हुन्छ तर सत्य सत्य नै हुन्छ, अकाट्य हुन्छ र धर्म भनेकै सत्य हो ।
रहयो,राष्ट्रवाद, देशभक्ति, भ्रष्टाचार विरोधी कुरा देखि संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका कुराहरु त । महाकाली सन्धिको माध्यमले लिम्पियाधुरा, कालापानी, लिपुलेख बेच्ने देखि MCC र BRI हुँदै कालीगण्डकी जलविद्युत परियोजना, सिक्टा सिचाइ परियोजना, विगत एक वर्ष कै संघ देखि प्रदेशसम्मका विभिन्न राजनीतिक एवं संसदीय अंकगणितीय घटनाक्रमहरु जस्तै कि कोशी प्रदेशसभा काण्ड, संघ र प्रदेश बजेट पास काण्ड देखि प्रदेशसभा सभामुख – उपसभामुख काण्ड, संघीय (केन्द्र) सरकारमा सहभागीता काण्ड, राष्ट्रपति – उपराष्ट्रपति निर्वाचन काण्ड, कोष्टारिका भ्रमण प्रशिक्षण काण्ड, चर्च कनेक्सन काण्ड, समानुपातिक सांसद छनौट काण्ड, संघीय प्रत्यक्ष निर्वाचन काण्ड, पार्टी कार्यकर्ता प्रशिक्षण काण्ड, विभिन्न नेताहरुको विभिन्न बहानामा हुने विदेश भ्रमण काण्ड, रात्री ५ तारे होटेल भेटघाट काण्ड, रिसोर्ट काण्ड, विभिन्न राजनीतिक दलका शिर्ष नेताका घर–घर दौडधुप काण्ड, संसदमा चर्का वक्तव्यबाजी काण्ड, संसदीय क्षेत्रमा बजेट बिनियोजन काण्ड लगायतका कैयौं उदाहरणहरु छन् ।
त्यसैले, मनोगत भ्रम र कपोलकल्पित आश बाट यथासिघ्र मुक्त हुने प्रयत्न गरौं । यसैमा नै देश, समाज, परिवार र ब्यक्तिगत भलाइ छ ।