दोहोरी च्याम्पियनको अन्तिम प्रतिष्पर्धा आज पोखरामा हुँदैछ। उक्त प्रतियोगितामा बिजेताका लागि बालचन्द्र बराल तथा शोभा कार्की र प्रकाश पराजुली तथा मिना बुढाथोकीको समूह प्रतिष्पर्धा गर्दैछन्। त्यसका साथै दर्शक मतलाई समेत निर्णयको आधार बनाइनेछ।
प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा स्थित बाराहीघाटमा सञ्चालन हुने च्याम्पियनको सम्पूर्ण तयारी पूरा भएको टेलिभिजनका कार्यक्रम महाशाखा प्रमुख डा. टंक उप्रेतीले जानकारी दिए।
च्याम्पियन अन्तर्गत बिजेता समूहले नगद रु. २० लाख साथमा रु. १ करोड बराबरको जीवन बिमा तथा उपविजेता समूहले नगद रु.१० लाख तथा रु.५० लाख बराबरको जीवन बिमा पुरस्कार पाउने छन्। त्यस्तै तृतीयलाई रु.३ लाख तथा सान्त्वना समूहलाई रु.२ लाख पुरस्कार पनि दिइने छ।
प्रतियोगिताका गायक प्रजापति पराजुली र गायिका सीता थापा तथा गीतकार रमेश बिजी र चन्द्र शर्मा निर्णायक छन्। त्यस्तै गायक बद्रि पंगेनी र गायिका प्रीति आलेले कार्यक्रम सञ्चालन गर्नेछन्। दिउँसो ४ बजेबाट सुरु हुने उक्त प्रतियोगिताको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गर्नेछ ।





