विश्व जलवायु सम्मेलनमा सहभागी हुने क्रममा लण्डन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार अपराह्न भेटवार्ता हुने तय भएको छ। साइडलाइन भेटवार्ता २० मिनेटका लागि तय भएको छ। पछिल्लोपटक प्रधानमन्त्री भएपछि देउवा र मोदीबीच हुन लागेको यो पहिलो भेटवार्ता हो ।
स्कटल्यान्डको ग्लास्गो सहरमा दुई प्रधानमन्त्रीबीच नेपाली समयअनुसार अपराह्न ३ः२५ देखि ३ः४५ भेटवार्ता हुने तय भएको कूटनीतिक स्रोतले जनाएको छ। ग्लास्गोको मर हल होटेलमा भेटवार्ता हुनेछ। अनौपचारिक प्रकारको भेटवार्तामा प्रधानमन्त्री देउवाको भविष्यमा हुने भारत भ्रमणका विषयमा छलफल हुन सक्ने कूटनीतिक अधिकारीहरूको आकलन छ।
ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकाका जलवायु परिवर्तन मामिलासम्बन्धी विशेष दूत एवं पूर्वविदेशमन्त्री जोन केरीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि स्कटल्याण्डको ग्लास्गोमा सुरु हुँदैछ । सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ ।





