Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

देब्रे हात भाँच्चिएकोमा दाहिने हातमा प्लाष्टर


बझाङमा देब्रे हात भाँच्चिएर उपचारका लागि अस्पताल गएका एक जना बालकको दाहिने हातमा प्लास्टर गरिएको तस्बिर मङ्गलवार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापरबाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् ।

अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मङ्गलवार केही बेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका काराकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् ।

आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनिललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्‍याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनिललाई वार्डमा भर्ना हुन लगाए ।

केही बेरमा आएका नर्सहरूले हातमा प्लास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा बसेका थिए । प्लास्टर सकिएपछि भोलि अपरेसन हुन्छ भन्दै स्वास्थ्यकर्मीले सुनिललाई आदेशको जिम्मा लगाए ।

आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए । क्यान्टिनमा पुगेपछि हेर्दा त भााच्चिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको रहेछ । आदेशले भिडियो बनाउँदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरे छन् ।

मङ्गलवार साँझ शल्यक्रियापछि बुधवार अस्पतालले सुनिललाई डिर्स्चाज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार