Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

कांग्रेसले दिएको ५० लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा


नेपाली कांग्रेसले उपलब्‍ध गराएको ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ।

गत असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर जनधनको क्षति भएपछि कार्यसम्पादन र संसदीय दल बैठक गरेर कांग्रेसले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सभापति देउवासहित नेताहरूले असोज २० गते प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय वाणिज्य बैंकको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए।

तर उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको देखिएको थिएन। कात्तिक ८ गतेको मिति राखेर कांग्रेसले असोज २० मै प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको थियो। उक्त मितिअनुसार २१ दिन हुँदा पनि कांग्रेसले बुझाएको चेकको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको थिएन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको रकमको विवरण सार्वजनिक गर्ने गरेको छ।

उक्त विवरणअनुसार कांग्रेसले दिएको ५० लाख रुपैयाँ कात्तिक ३० गते कोषको खातामा जम्मा भएको देखिन्छ।

सार्वजनिक भएको विवरणको ९० नम्बरमा कांग्रेसले राष्ट्रिय बाणिज्य बैंकको चेकमार्फत् ५० लाख रुपैयाँ दिएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !
विचार