Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रविलाई यस कारण चितवनबाट रातारात लगियो पोखरा


चितवनमा बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा पुर्‍याइएको छ ।

काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पुर्‍याइएको हो ।

चितवनमा २ दिनसम्म बयान सकेर राति नै स्थलमार्ग हुँदै रविलाई बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा पुर्‍याएको छ ।

चितवनमा रविको बयान चलिरहेका बेला रास्वपाका आन्दोलनका क्रममा प्रहरी र नेता कार्यकर्ताबीच झडपसमेत भएपछि बिहीबार बिहान जहाजमा पोखरा ल्याउनुभन्दा रातारात नै गाडीमार्फत पोखरा ल्याउनु उचित देखिइएको प्रहरीको भनाइ छ ।

काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसैले बयानका लागि रविलाई गत बिहीबार पोखराबाट काठमाडौं लागिएको थियो ।

गत कात्तिक २ गते रविलाई काठमाडौं पार्टी कार्यालयबाटै पक्राउ गरी पोखरा ल्याइएको हो । रविलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौ पटक म्याद थपिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा रविलाई अनुसन्धान भइरहेको छ । उनको र परिवारको नाममा रहेको सम्पत्ति रोक्का गरेर अनुसन्धान गरिरहेको प्रहरीलाई सम्पत्ति शुद्धीकरणको मुद्धामा गत मंसिर ९ गते थप अनुसन्धानका लागि १५ दिन म्याद थप भएको हो ।

अब भने रविको अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्धा दायर गर्ने तयारी प्रहरीको छ । रविविरुद्ध पोखरा, बुटवलसँगै काठमाडौं, चितवन र पर्सामा पक्राउ पुर्जी जारी भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई त्यहीअनुसार बुटवल, काठमाडौं र चितवनमा बयान सकेर ल्याइएको छ भने अब पर्सासमेत लैजाने पक्का देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार