
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो । सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो ।
पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।
यसैबिच रवि लामिछानेलाई भेट्नका लागि ठूला नेताहरुको लर्को लाग्ने गरेको छ । रवि लामिछानेलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भेटेका छन् । आइतबार बिहान कास्की प्रहरी कार्यालय पुगेर लामिछानेसँग शर्माले करिब २० मिनेट भेट गरेको कास्की प्रहरी स्रोतले जनाएको छ ।
उनी बिहान ९ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेका थिए । त्यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि रविलाई भेटेका थिए । शाहीले लामिछानेलाई भेटेपछि लामिछानेलाई हिरासतमा राख्दा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जिकिर गरेका थिए । सांसद शाहीले लामिछानेलाई मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याइएको पनि बताएका थिए ।
रवि लामिछानेले सांसद शाही भेट्न जाँदा आफूलाई चितवनबाट रक्सि खाएका प्रहरीहरुले जबरजस्ती रातारात पोखरा पु¥याइएको बताएका थिए । रविसँगको भेटवार्ता पछि शाहीले भने, ‘कानुनी राज्यमा छौँ, कानुन सबैले मान्नुपर्छ । तर यहाँ मानवअधिकारको गम्भीर उल्लङ्घन भएको छ । मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याएको भन्नुभएको छ । यो गम्भीर घटना हो । सत्यतथ्य छानबिन गर्नुपर्छ ।’
लामिछानेले आफूलाई चितवनमा अमानवीय व्यवहार गरिएको कुरा पनि सुनाएको शाहीले बताएका थिए । प्रहरीले भने चितवनमा रविलाई बयानका लागि अदालत उपस्थित गराउँदा प्रहरी र रवि समर्थकबिच धकेला धकेलको स्थिति भएको भन्दै उज्यालोमा रविलाई पोखरा लैजाँदा थप घटना घट्न सक्ने भएको हुनाले रातको समयमा सुरक्षितका साथ लगिएको बताएको छ ।
गत शुक्रबार मात्रै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रविलाई भेटेका थिए । उनले रविलाई भेटेर फर्किपछि रविलाई अनेक काण्ड लगाएर दुःख दिइएकोमा आफूलाई अस्वाभाविक लागेको बताएका थिए ।
कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई शुक्रवार बिहान भेटेर फर्किने क्रममा डा. भट्टराईले राज्यले रविमाथि राजनीतिक प्रतिशोध साँधेको हो कि भन्ने आशंका लागेको समेत बताएका थिए ।