सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ । उनीहरुलाई स्थलमार्गबाट पर्सा पु¥याइएको प्रहरी स्रोतले बताएको छ ।
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो । छवि र रामबहादुरलाई स्थलमार्गबाट लगिए पनि रास्वपा सभापतिलाई भने हवाईमार्गबाट पर्सा लैजाने तयारी भैरहेको कास्की प्रहरीले बताएको छ ।
छविलाल जोशीलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पु¥याइएको प्रहरी स्रोतले बतायो । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने छ ।
रवि लामिछानेलाई भने बयानका लागि काठमाडौं हुँदै वीरगन्ज लैजाने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीका अनुसार रविलाई बुद्ध एयरको उडानबाट आज काठमाडौं ल्याइने छ । त्यसपछि उनलाई आजै सिमराको उडानबाट वीरगन्ज पठाइने छ ।
सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने पूर्व डिआइजी छविलाल जोशी, र उनीहरुका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी) सहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
जिल्ला अदालत पर्साले गत बुधबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको थियो ।
लामिछानेलाई पोखराबाट चितवन लगेर जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो । बयान लिने क्रम गत बुधबार बयान चलिरहँदा रविका समर्थक र प्रहरीबिच धकेला धकेल भएको थियो । त्यसक्रममा ५० भन्दा धेरै प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए ।
यसरी रवि समर्थक र प्रहरीबिच धकेला धकेल भएपछि रविलाई बयान सक्किना साथ रातारात पोखरा पु¥याइएको थियो । दिनमा लैजाँदा थप घटना घट्न सक्ने भएकाले रातको समयमा पोखरा लगिएको प्रहरी स्रोतले बताएको छ ।
पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा जीबी, रवि र छविसहितविरुद्ध ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेको छ।
त्यही ठगीको अहिले पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ। उक्त सहकारीको अनुसन्धानमा अहिले छवि र रविलाई बयानमा तानिएको हो । सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जीबी, छवि, रवि र कुमार रम्तेल हुन्। रम्तेल अहिले कास्की जेलमा छन् ।
उता जीबी मलेसियामा लुकेको बताइए पनि अहिलेसम्म फेला परेका छैनन् । उनी प्रहरीको फरार सुचीमा छन् । यता पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिइसकेका छन् ।
अब पाँचौँ सहकारी ठगी प्रकरणमा बयानका लागि उनीहरूलाई पर्सा लगिएको हो । छविलाल असोज ६ गते काठमाडौंको बानेश्वरबाट पक्राउ परेका थिए भने रवि गत कात्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए । रवि र छवि दुवै सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
उनीहरुविरुद्ध सहकारीसँगै, संगठित अपराध, सम्पत्ती सुद्धिकरणमा समेत अनुसन्धान भइरहेको छ ।