नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् ।
‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु,’ अध्यक्ष ’प्रचण्ड’ले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
त्यसप्रकारको व्यवहार रोक्न उनले आग्रह पनि गरेका छन्। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले सभापति लामिछानेमाथि अनुसन्धान गरिरहेको छ। बयानका लागि काठमाडौंबाट चितवन पु¥याएका लामिछानेलाई अस्वस्थ हुँदाहुँदै राति नै प्रहरीले चितवनबाट उठाएर पोखरा लगिएकोमा लामिछानेले आपत्ति जनाएका छन्।
लामिछानेले आफूलाई रातारात चितवनबाट पोखरा ल्याउँदा प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै लगाएको आरोप नेपाल प्रहरीले खण्डन समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै सो कुरा भ्रामक भएको बताएको छ ।
लामिछानेलाई आज अनुसन्धानका लागि वीरगन्ज पु¥याइएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पु¥याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पु¥याइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।
यसअघि लामिछाने र जोशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो । पर्साको बिरगञ्जमा रहेको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा जीबी, रवि र छविसहितविरुद्ध ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेको छ। त्यही ठगीको अहिले पर्सा प्रहरीले अनुसन्धान गरिरहेको छ। उक्त सहकारीको अनुसन्धानमा अहिले छवि र रविलाई बयानमा तानिएको हो ।
सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जीबी, छवि, रवि र कुमार रम्तेल हुन्। रम्तेल अहिले कास्की जेलमा छन् । उता जीबी मलेसियामा लुकेको बताइए पनि अहिलेसम्म फेला परेका छैनन् । उनी प्रहरीको फरार सुचीमा छन् ।
यता पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिइसकेका छन् । अब पाँचौँ सहकारी ठगी प्रकरणमा बयानका लागि उनीहरूलाई पर्सा पु¥याएको हो ।
छविलाल जोशीलाई सोमबार बिहानै पु¥याइए पनि रविलाई भने दिउँसो मात्रै पु¥याइएको प्रहरीले जनाएको छ । लामिछानेलाई गत कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरी प्रहरीले कास्की पु¥याएको थियो ।
लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन, १५ दिन र आइतबार ४ दिन म्याद थप गरिएको हो । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।