केही समययता बन्द रहेको मलेसियाको रोजगारी फेरि खुला भएको छ । २०८१ जेठ १८ गते देखि लागेको आप्रवासी कामदारमाथिको प्रतिबन्ध आंशिक रूपमा खुला भएको हो । यो सँगै अब इच्छुक नेपालीहरु मलेसिया गएर श्रम गर्न पाउने भएका छन् । मलेसियाको श्रम नीतिअनुसार देशभित्र १५ प्रतिशत मात्रै विदेशी श्रमिक रहने व्यवस्था छ । उक्त सङ्ख्या पुरा भएसँगै मलेसियाले श्रमिक लिन बन्द गर्ने निर्णय गरेको थियो ।
मलेसियास्थित नेपाली राजदूतावासले प्लान्टेसन लगायतका अन्य क्षेत्रका माग पत्र प्रमाणीकरण गरेको छ । गत शुक्रवार र सोमबार गरेर फेल्डा प्लान्टेसन लगायत विभिन्न प्लान्टेसन र अन्य कम्पनीका एक हजार ७८० माग पत्र प्रमाणीकरण भएको हो । दूतावासले माग पत्र प्रमाणीकरण गरेसँगै मलेसियामा ६ महिनादेखि राखिएको आप्रवासी कामदार पठाउने बाटो खुलेको छ । तर, अहिले आंशिक रूपमा मात्रै खोलिएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार हाल आंशिक रूपमा मात्रै खुला गरिएको हो । विशेष कोटामार्फत डिमान्ड गरिएको संघको भनाइ छ । नेपाल र मलेसियाबिच सन् २०१८ अक्टोबर २९ तारिखमा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । त्यसपछि मलेसियाले पटक पटक आप्रवासी कामदार लैजान रोक लगाउँदै आएको छ ।
अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा माग पत्र पेस गर्न सक्ने राजदूतावासले जनाएको छ । मलेसियाको माग पत्र नेपाली दूतावासले प्रमाणीकरण गरेपछि वैदेशिक रोजगार विभागले आफ्नो वेबसाइटमा सो माग पत्र अपलोड गरेपछि कामदार लैजाने प्रक्रिया सुरु हुनेछ ।
हाललाई सीमित क्षेत्रमा मात्रै कामदारको माग भएको मलेसियाको लागि नेपाली कार्यवाहक राजदूत मुदिता बज्राचार्यले बताएकी छिन् । उनले दूतावासमा आएका मागपत्रहरु अनुगमन गरेर अनलाइन गरिएको बताइन् ।
मलेसिया जाने कामदारमाथि ठगी भएको भन्दै नेपाल सरकारले २०७५ जेठ १२ गते मलेसिया श्रम स्वीकृतिमा रोक लगाएको थियो । पछि दुई सरकारबिच सहमति भएको थियो । मलेसियामा रोजगारी खुलेसँगै स्वास्थ्य परीक्षणमा गरिएको सिन्डिकेट समेत तोडिएको छ ।
नेपाल सरकारबाट सूचीकृत सबै स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारहरूको मेडिकल गर्न पाउने दूतावासले जनाएको छ । मलेसियाको मेडिकलमा सिन्डिकेट गर्दै आएको बेस्टिनेट एसडिएन बिएचडी र नेपाल स्वास्थ्य व्यवसायी महासङ्घबिचको सम्झौता गत मेमा सकिएको थियो ।
त्यसपछि उक्त सम्झौता नवीकरण नगरिएपछि सिन्डिकेटको अन्त्य भएको हो । हाल मलेसियामा झन्डै ४ लाख नेपाली श्रमिक कार्यरत छन् ।