साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धान गरिरहेकाले उनी तत्काल भने छुट्ने छैनन् ।
यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । यसमा धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडे पनि उनी रिहा भने हुने छैनन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान गरिरहेको छ । यसमा थप अनुसन्धान गर्नुपर्ने भएकाले उनी रिहा नहुने भएको हो ।
मंसिर ४ गते भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । प्रसाईंले फेसबुक पेजबाट एक भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा २१ करोड डलर रहेको दाबी गर्दै प्रसाईँले एक डकुमेन्टसहितको भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यस विषयमा भने उनले सबै फोटो भिडियो आफूले नभइ कम्बोडिया मै बस्ने एक नेपालीले ह्वाट्स एपमा पठाएको र उनले पोस्ट मात्रै गरेको सरकारी वकिल कार्यालयमा बयान दिएका थिए ।
यदि उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएका अभिव्यक्ति र लगाइएका लाञ्छना झुठो ठहरिएमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ आकर्षित हुने प्रहरीको साइबर ब्युरोले जनाएको छ । ब्युरोका एक अनुसन्धान अधिकृतका अनुसार त्यस्तो कसुरमाथि ऐनको दफा ४७ आकर्षित हुन्छ । ‘विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्ने’ अन्तर्गत सजाय हुने उनले बताए ।
त्यसमा भनिएको छ, ‘कम्प्युटर, इन्टरनेट, लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामाग्री वा कसैप्रति द्वैष फैलाउने वा विभिन्न जात, जाती वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ ।’
प्रसाईं मंसिर ४ गते उनकै निवास भक्तपुरबाट पक्राउ परेका थिए।