
सहकारी प्रकरणमा हिरासतमा रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । जोशीलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी स्रोतका अनुसार जोशीको छातीमा गाह्रो भएको सिकायतपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
जोशीलाई चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । एक उच्च प्रहरी अधिकारीले भने ‘उहाँले छातीमा असहज महसुस भएको बताउनुभएपछि चेक जाँचका लागि अस्पताल लगेका थियौँ । डाक्टरको सिफारिस अनुसार भर्ना गरेर अहिले सबै परीक्षणहरू भइरहेको छ ।’
एउटै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रहरीका अनुसार अस्ति बुधबार अस्पताल लगेर स्वास्थ्य जाँच गरिएको थियो भने हिजो बिहिबार चिकित्सकले अस्पतालमै आएर चेक गरेका थिए । ‘चिकित्सकले अस्पताल भर्ना हुन सुझाव दिनुभएको थियो, तर उहाँले मान्नु भएन,’ ती प्रहरी अधिकारीले भने ।
लामिछानेलाई भेटेका रास्वपाका एक नेताले भने सभापति लामिछानेको स्वास्थ्य अवस्थाबारे चौतर्फीरुपमा चासो र चिन्ता व्यक्त भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएको बताए । उनले भने, ‘दबाब परेपछि प्रहरीले स्वास्थ्य परीक्षण गरायो । उहाँको प्रेसर अहिले पनि हाइ छ । तर, अस्पताल बस्दिनँ भन्नुभयो । धपेडी र मानसिक तनावले प्रेसर बढेको भएपछि हिरासतमै बस्छु भन्नुभएको छ ।’
रविले विगतमा हिरासत छल्न भीआइपीहरु अस्पताल बस्ने प्रवृत्तिको विरोध गर्ने गरेका थिए । उनी गृह मन्त्री हुँदा हिरासत छल्ने प्रवृत्ति अन्त्यका लागि तीन बुँदे निर्देशनसमेत जारी गरेका थिए ।
एकै प्रकरणमा जोशी गत असोज ६ गते काठमाडौंको बानेश्वरबाट पक्राउ परेका थिए भने लामिछाने गत कात्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए । प्रहरीले दुवैजनाविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पती शुद्धिकरण मुद्धामा अनुसन्धान गरिरहेको छ ।
उनीहरु दुवैजना कास्की प्रहरी हिरासतमा रहेका छन् । लामिछाने र जोशी दुवैजनालाई पर्साबाट लेराएपछि २६ गते कास्की अदालत उपस्थित गराउने भनिएकोमा प्रहरीले हिजो बिहिबार २७ गते मात्रै उपस्थित गराएका थिए ।
रवि र छविविरुद्धमुद्दा हाल्ने हदम्याद अब ९ दिन बाँकी छ । हिजो १० दिन मात्रै बाँकी रहेको र रविको पछिल्लोपटक थप गरिएको म्याद सक्किएपछि उपस्थित गराइएको थियो । रविसँगै व्यावसायिक साँझेदार छविलाई पनि उपस्थित गराइएको थियो । रविलाई हिजो थप ४ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको छ र ती सबै ठाउँमा रविको बयान गराइसकिएको छ ।
सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ ।
समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीवी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।
जीबी राई भने अझै फरार छन् । उनको तीब्र खोजी भैरहेको प्रहरीले जनाएको छ । जीबी राई सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन् ।