Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

आज बिहान यो वर्षकै सबैभन्दा धेरै चिसो, भोलिबाट के होला ?


आज बिहान यो वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । केहिदिनयता निरन्तर घटिरहेको काठमाडौंको तापक्रम शनिबार २ डिग्री सेल्सियसमा झरेपछि यो वर्ष सबैभन्दा धेरै चिसो महसुस गरिएको हो ।
आज बिहान पौने छ बजे २ दशमलब ५ डिग्री सेल्सियस मापन गरिएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको थियो । बिहान ९ बजे आसपासको यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।
शुक्रबार रातिदेखि तापक्रम घट्दो गतिमा थियो । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलब १ डिग्री सेल्सियस मापन गरिएको थियो भने बिहान ६ बज्दा उक्त तापक्रम २ दशमलब ५ डिग्री सेल्सियसमा झरिसकेको थियो । त्यसको केहीसमयपछि अर्थात ९ बजे तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो ।
बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको बताइएको छ । सामान्यतया बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ ।
आज दिनभर र भोलि मौसम सफा हुने देखिन्छ । काठमाडौं उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा बिहान हुस्सु कुहिरो लागेको थियो । मौसम विभागका अनुसार अब केहीदिन पानी पर्ने सम्भावना पनि देखिँदैन । त्यसैले केही दिनयता लगातार न्यूनतम तापक्रममा गिरावट आएर जाडो बढ्ने अनुमान गरिएको छ । शनिबार बिहानको जस्तो जाडो केहीदिन हुने बताइएको छ । बिहानको समयमा जाडो हुने भएपनि दिउँसोको समयमा भने घाम लाग्ने देखिन्छ ।
अघिल्लो हप्ता सम्म काठमाडौंको तापक्रम ७ डिग्री सेल्सियस वरीपरी रहेको थियो । उक्त तापक्रम केही दिनमै २ डिग्री सेल्सियसमा झरेको हो ।
जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगिसकेको छ । मंसिर सकिनै लाग्दा तराई र उपत्यकामा हुस्सु र कुहिरो पनि लागेको छ ।
आगामी सोमबारदेखि उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना समेत रहेको बताइएको छ । हिमपातको समेत सम्भावना देखिएका कारण जाडो अझै बढ्न सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार