Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

टीकापुर विमानस्थल २७ वर्षपछि सञ्चालन


२७ बर्षदेखी बन्द रहेको कैलालीको टीकापुर विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ । आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेर दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो ।

पहिलो उडानमार्फत टीकापुर आइपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी लगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँ लगायतले स्वागत गरेका थिए ।

राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौं–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताएका छन् । उनका अनुसार गत निर्वाचनमा उनले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएका थिए र आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएसँगै यसको निरन्तरताका लागी उनको प्रयास रहनेछ ।

टीकापुर नगरपालिकाको पहलमा काठमाडौंदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको स्रोतले जनाएको छ । विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं उडान हुनेछ ।

टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको छ । ‘यति एयरलाइन्सले काठमाडौं–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ ।

यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा रू नौ हजार निर्धारण गरिएको छ । उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ ।

टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौंको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन्।

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ ।

विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुने अपेक्षा गरिएको छ । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ।

सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउने तालिका छ।

त्यसैगरी काठमाडौंदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ। यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ ।

साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ।


प्रतिक्रिया दिनुहोस !
विचार