Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

रवि लामिछानेले कुन कुन पुस्तक पढे हिरासतमा ?


रास्वपा सभापति रवि लामिछाने दुई महिनायता कास्की प्रहरीको हिरासतमा छन् । यो दुई महिनाको बसाईमा उनले हिरासतभित्र १७ वटा पुस्तक पढेको उनका निकटतम सहयोगी समेत रहेका रास्वपा नेता दिपक बोहोराले बताएका छन् ।

बोहोराले बिहिबार बिहान फेसबुक लाइभमार्फत यससम्बन्धी जानकारी दिएका हुन् । लामिछानेले हिरासतमा रहँदा पढेका १७ वटै पुस्तकबारे जानकारी नदिएपनि बोहोराले केही पुस्तक र तीनका लेखकबारे भने जानकारी दिएका छन् ।

रवि लामिछानेसँगको पछिल्लो भेट र लामिछानेको भाइरल भएको एउटा तस्बीरबारे जानकारी दिन फेसबुक लाइभमा आएका बोहोराले लामिछानेले हिरासतमा अध्ययन गरिरहेको बताएका हुन् । बोहोराले फेसबुक लाइभमार्फत दिएको जानकारी अनुसार रास्वपा सभापति रवि लामिछानेले हिरासतमा रहँदा केही नेपाली र केही विदेशी पुस्तक पढेका छन् ।

फरिद जकारियाको द एज अफ रिभोलुसन, त्यसैगरी अर्का विदेशी लेखकको आइडिया अफ जस्टिस, रमेशनाथ पाण्डेको कुटनीति सम्बन्धी पुस्तक पढेको उनले बताएका छन् । यतिबेला भने लामिछानेले पत्रकार सुधिर शर्माको पुस्तक पढिरहेको बोहोराको भनाई छ ।

हिरासतमा रहँँदा रवि लामिछानेमाथि प्रहरीले अन्याय गरेको, डायरी समेत खोसेको जस्ता आरोप रास्वपाका नेता कार्यकर्ताले लगाइरहँदा रास्वपाकै सह कोषाध्यक्ष दीपक बोहोराले भने रवि लामिछानेले हिरासतमा १७ वटा पुस्तक पढेको बताएका हुन् । यद्यपि प्रहरीले सभापति रवि लामिछानेमाथि अन्याय गरेको आरोप भने उनले पनि दोहो¥याएका छन् ।

रवि लामिछाने हिरासतमा सुतेको अवस्थाको भनी भाइरल भएको फोटोका सन्दर्भमा जानकारी दिन फेसबुक लाइभमा आएका बोहोराले अन्य विषयमा जानकारी दिँदा कुनै नोट नहेरी बोलेपनि पुस्तकहरुको नाम लिँदा भने हातमा हेरेका थिए । सम्भवतः पुस्तकहरुको नाम उनले कुनै कागजमा लेखेर ल्याएको अनुमान गर्न सकिन्थ्यो ।

रवि लामिछानेले नै कुन कुन पुस्तक पढेँ भनेर बोहोरालाई दिएको जानकारी अनुसार हातमा या कुनै कागजमा टिपोट गरेको लिष्ट पढेको बुझ्न लाइभ भिडियो हेर्दा कठिन थिएन । रवि लामिछाने लेखपढ गर्ने मान्छे होइनन् भनेर उनका आलोचकहरुले आलोचना गरिरहँदा आफ्ना निकटतम व्यक्ति मार्फत पढेका पुस्तकहरुको लिष्ट नै सार्वजनिक गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

त्यसो त बुधबार साँझ हिरासतमा रवि लामिछाने सुतेको अवस्थाको भनी भाइरल गरिएको फोटोमा पनि पुस्तकहरु देख्न सकिन्छ । हिजो भाइरल भएको फोटो हेर्दा टेबुलमा विभिन्न पुस्तकहरु छन् । पुस्तक सहित रवि लामिछानेको भनिएको फोटो भाइरल हुनु अनि रवि लामिछानेका निकटम सहयोगी समेत रहेका रास्वपा नेता दीपक बोहोराले पुस्तकको सूची सार्वजनिक गर्नुलाई कतिपयले संयोग भनेका छन् त कतिपयले पूर्व नियोजित भनी टिप्पणी गरेका छन् ।

अझ अर्को संयोग त के छ भने रवि लामिछाने हिरासतमा रहँदा सुतेको अवस्थाको भनिएको फोटो रास्वपाकै कट्टर समर्थक मानिने डा.निकोलश भुसालले सार्वजनिक गरेको समाचार बाहिरिएको छ ।

उनी स्वयंले फोटो सार्वजनिक गरेको जिम्मेवारी लिएका हुन् । टेबुलमा असरल्ल अवस्थामा रहेका विभिन्न पुस्तकहरु रहेको फोटो सार्वजनिक गरिनु र त्यसैको भोलिपल्ट रवि लामिछानेका अति प्रिय मानिने दीपक बोहोराले रवि लामिछानेले हिरासत बसाईका क्रममा पढेको भन्दै विभिन्न पुस्तकहरुको नाम भन्नुले आलोचकहरुको आशंका बल पुर्‍याएको छ ।

सामाजिक सञ्जालमा रवि लामिछाने, दीपक बोहोरा र डा. निकोलश भुसालको आलोचनामा उत्रिएकाहरुले उनीहरुको डिजाइन अनुसार नै लामिछाने सुतेको फोटो भाइरल गराइएको भन्न भ्याएका छन् । तर, यसको सत्य तथ्य भोलिका दिनमा थाहा हुँदै जाला ।


प्रतिक्रिया दिनुहोस !
विचार