खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु हिजो शनिबार खोरुङ्गा खोलामा नुहाउन गएका थिए । विद्यार्थीहरुको टोली नै थियो । नर्स शिक्षिका विद्यार्थीहरुसँगै गएकी थिइन् । खोलामा रामाइलो गर्दै नुहाई धुवाई चलिरहेका बेला नर्स रविना र सुस्मिता भने टिकटक बनाउदै थिए । नजिकै बनाई रहेको टिकटक अलि राम्रो नआएको भन्दै उनीहरु अलि पर गएका थिए ।
उनीहरुसँगै अर्की एक विद्यार्थी पनि टिकटक बनाउन गएकी थिइन् । टिक भिडियोे बनाउदा बनाउदै नर्स रविना र विद्यार्थी सुस्मिता खोलाको खोँचमा झरे । हेर्दाहेर्दै दुवैजना बेपत्ता भए । अर्की एक विद्यार्थीले उक्त कुरा अरु विद्यार्थी साथीहरुलाई सुनाएपछि विद्यार्थीहरुले नै मिस र साथी खोलाको खोँचमा झरेको र बेपत्ता भएको खबर अरु विद्यार्थीहरुले ल्याएका थिए ।
खोंचमा खसेका कारण दुवै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले जनाएकी छिन् । उनका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेको देखिन्छ । प्रहरीका अनुसार टिकटक बनाउन सँगै जाने विद्यार्थी बिक्षिप्त भएका कारण उनले अहिले सबै कुरा भन्न सकिरहेकी छैनन् ।
दिनभरीको खोजपछि साँझमा मात्रै उनीहरुको सब फेला परेको थियो । शव मृतकका परिवारलाई आज हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । यसरी टिकटक भिडियो बनाउँदा धेरैले ज्यान गुमाइरहेका छन् ।
केहि समय अगाडी बाइकको पछाडी बसेर टिकटक भिडियो बनाउँदा सल्यानबाट तुलसीपुर तर्फ जाँदै गरेको मोटरसाइकलबाट भीरमा झर्दा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसीको मृत्यु भएको थियो ।
धरानबाट ओखलढुंगा जाँदै गरेका धरान– ५ का १८ वर्षीय सुवास परियारको पनि उदयपुरको कटारी नगरपालिका– ११ हर्देनी भिरमा टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको थियो । धरानबाट ओखलढुंगातर्फ जाँदै गरेको सुमोमा यात्रा गरिरहेका परियार उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि सवारीबाट ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।
टिकटक बनाउँदै गर्दा भिरबाट लडेर गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । केहि समय अगाडी इन्स्टाग्राम रिल्स बनाउने क्रममा २७ वषीय चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको थियोे । रिल्स बनाउने क्रममा उनी ३०० फिट अग्लो झरनाबाट चिप्लिएर खसेकी थिइन्।
पछिल्लो समय रिल्स र टिकटक बनाउने क्रेज व्यापक छ । कतिपय अरुले भन्दा भिन्न स्टाइलको भिडियो बनाउन मरिहत्ते गर्छन् । चुनौती मोलेरै खोला, नदी, खोल्सा, झरनादेखि तालमा समेत भिडियो बनाउन उनीहरु रुचाउँछन् ।
यो क्रेज यति देखिन्छ कि वर्षेनी आउने टिकटक र रिल्सको भिडियो बनाउँदा हुने मृत्युका घटनाले यसको पुष्टि गर्छन् ।बालबालिकादेखि युवापुस्ता, वृद्धवृद्धामा टिकटकको मोह बढ्दै गएको छ । जोखिम मोेले बनाएको टिकटक भिडियोमा धेरै लाइक कमेन्ट आउने भन्दै ज्यान कै बाजी राखेर भिडियो बनाउँदा ज्यान जाने गरेको प्रहरीहरु बताउँछन् ।