Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रविको अग्नि परिक्षा सुरु, होलान् त पास ?


सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अग्निपरिक्षा आजबाट सुरु भएको छ । लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

उनीविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुँदैछ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको आधारमा गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।

आज पूर्वगृहमन्त्री समेत रहेका लामिछाने विरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआईजीसमेत रहेका छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरेर रातारात पोखरा लगिएको थियो ।

यसबीचमा उनीहरुलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो । उनीहरुका व्यावसायिक साँझेदार जिबी राई भने अझै पनि फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

रविविरुद्ध मुद्दा दर्ता गर्न लागिएकै बेला रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका छन् । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहित सांसदहरू शिशिर खनाल,हरि ढकाललगायत पोखरा पुगिसकेका छन् ।

विराजभक्त श्रेष्ठ, मनिष झालगायतका सांसद पोखरा पुग्ने क्रममा रहेको बताइएको छ । रास्वपाका केहि समर्थकहरु पनि पोखरा पुगिसकेका छन् । उनीहरुले शान्तीपूर्ण आन्दोलन गर्ने जनाएका छन् ।

रवि पक्राउ परेदेखि नै रास्वपाका नेता तथा समर्थकहरुले आन्दोलन गर्दै आइरहेका छन् । रविलाई बयानका लागि बुटवल, काठमाडौं, चितवन र विरगञ्जमा उपस्थित गराउँदा पनि रास्वपाका नेता तथा समर्थकहरुले आन्दोलन गरेका थिए ।

आज पनि आन्दोलनको तयारी भइरहेको रास्वपाका एक नेताले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार