Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

रवि लामिछानेलाई १० वर्ष जेल सजायको माग


सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि २७ करोड १९ लाखको सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सो रकम लामिछानेले गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा आइतबार कास्की जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।
अभियोग पत्रमा देवानी दायित्वअन्तर्गत लामिछानेपत्नी निकिता पौडेलको समेत सम्पत्ति जफत गर्न माग गरिएको छ ।

रवि लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, सङ्गठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। सबै गरी जेल सजाय मात्र करिब १० वर्ष बढी माग गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता एवं सूचना अधिकारी शान्तिदेवी शर्माले आइतबार ३१ जनालाई प्रतिवादी, आठ वटा कम्पनी र पाँच व्यक्तिविरुद्ध सम्पत्ति जफतको मागसहित कुल ४४ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता गरेको हो ।

यसअघिका १९ जना गरी अदालतमा अभियोग दर्ता हुनेको सङ्ख्या ६३ पुगेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविविरुद्ध सम्पत्ति शुद्धीकरणसहित अरू २ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध पनि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरुद्ध कसुर र बिगो थप गर्दै पूरक अभियोग पत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ ।

सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन विरूद्धको कसूरमा मुद्दा चलाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार