Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

जीबीले पैसा जुटाए, रविले खर्च गरेः छविलाल जोशी


गोर्खा मिडिया नेटवर्कमार्फत् सहकारी बचत रकम अपचलन प्रक्रियामा आफ्नो संलग्नता नरहेको बयान छबिलाल जोशीले दिएका छन् । कास्की प्रहरीले दर्ता गरेको पुरक अभियोजन पत्रमा उल्लेख बयानमा जोशीले सहकारीबाट पैसा ल्याउने कुनैपनि प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन् ।

गितेन्द्रबाबु राईले पैसा जुटाउने र रवि लामिछानेले खर्च गर्ने गरेको जोशीको बयान छ । ‘गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको बैंकको खातामा रकम जुटाउने कार्य गितेन्द्र बाबु राईबाट र बैंकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने गरेको.. ’, जोशीको बयान छ ।

गोर्खा मिडिया नेटवर्क मार्फत ग्यालेक्सी टीभी सञ्चालनमै पनि आफ्नो कुनै भूमिका नरहेको उनको बयान छ । त्यसैले कहाँबाट पैसा आयो भन्ने पनि थाहा नभएको उनको बयान छ । तर गितेन्द्रबाबु राई र रवि लामिछाने यो सबै प्रक्रियामा सहभागी रहेको जोशीको बयान छ ।

‘निज गितेन्द्र बाबु राईले के कहाँबाट, कुन कुन तवरले रकम कम्पनीमा ल्याई सञ्चालन गरेका थिए मलाई थाहा भएन’ जोशीको बयान छ, ‘टिभी सञ्चालनमा आएपछि आवश्यक रकम जुटाउने कार्य गितेन्द्र बाबु राईले गरेका र टिभी सञ्चालनको लागि भवन निर्माण, डेकोरेशन, स्याटलाइट जडित अत्याधुनिक क्यामेरा लगायतको विभिन्न सामग्री खरीद, कर्मचारी र पत्रकारहरुको छनोट, नियुक्त, तलबको मापन लगायतको सम्पूर्ण कार्य गितेन्द्र बाबु राई र रवि लामिछानेबाट भएको ।’ उनले बयानमा भनेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।

साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार