सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की पु¥याइएको छ ।
उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालत लगिएको छ । हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लीला पछाईको बयान चलिरहेको छ । लीलाको बयान अन्तिम चरणमा पुगेको छ । लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरीले अनुसन्धान रिपोर्ट जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र गत शुक्रबार र आइतबार अदालतमा दर्ता गरेको हो । सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको भन्दै बिगो कायम गरिएको छ भने व्यक्ति र कम्पनी सहित ६३ जना प्रतिवादी छन् ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताइन् ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । रु ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो ।
प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन् ।
सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।
सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसार बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।
पक्राउ परे लगतै उनलाई कास्की पु¥याइएको थियो । उनीमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्कमा ल्याइ अपचलन गरेको आरोप छ ।
छविलाल जोशी गत असोज ६ गते काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका थिए । जोशीलाई पनि पक्राउ गरेर प्रहरीले कास्की लगिएका थिए । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलगायत अन्य आरोपी भने अझै फरार छन् ।
उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।