नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) लाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाबाट दाङको घोराहीतर्फ जाँदै गरेका खड्कालाई घोराही उपमहानगरपालिका वडा नम्बर १९ बाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सुदखोर र मिटर ब्याजीको आरोपमा मंसिर ६ गते घोराही उपमहानगर १५ बिपी चोकनजिकै ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि खड्का नेतृत्वको समूहले दुव्र्यवहार गरेका थिए ।
त्यसअघि असोज २९ गते नेकपा (एमाले) दाङका जिल्ला सल्लाहकार सदस्य घोराही उपमहानगर १४ लखन पार्कनजिकै बस्ने दुर्गा पन्थमाथि मोसो दलेको उनीमाथि आरोप छ । दुवै घटना पछि नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले घटनाको जिम्मा लिएका थिए। दुवै घटना घटाएर अमर र उनका पार्टीका सदस्यहरू फरार थिए ।
प्रहरीका अनुसार यी दुवै घटनाका पीडितले कसैका विरूद्ध किटानी जाहेरी भने दिएका छैनन् । प्रहरी अधिकारीले पीडितहरूलाई जिल्ला सेक्रेटरी खड्का लगायतका नाममा किटानी जाहेरी दिन आग्रह गर्दै आएको भए पनि उनीहरूले हालसम्म जोहरी भने दिएका छैनन् ।
खड्कालाई आज केहिबेरपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ । उनीमाथि कानुनी कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।