Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

आज रविको छिनोफानो हुन्छ ?


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छुट्ने या थुनामा रहने भन्ने कुराको छिनोफानो हुन अझै केही दिन लाग्ने भएको छ । लामिछानेको थुनछेक बहस हिजो नै सकिएपनि उनीसँगै प्रतिवादी बनाइएका अन्यको बहस बाँकी रहेका कारण अझै केही दिन लाग्ने भएको हो । केहीदिनयता जिल्ला अदालत कास्कीमा रवि लामिछाने, छबिलाल जोशी सहितका व्यक्तिहरुलाई सहकारी प्रकरणमा थुनामा पठाउने या रिहा गर्ने भन्ने सम्बन्धी बहस भइरहेको छ । त्यसमध्ये छबिलाल जोशी, रवि लामिछाने र लिला पछाईँको बहस सकिएको छ भने हिजोबाट जिबी राईका साझेदार तथा नेचर हब्सका सञ्चालक रामबहादुर खनालको बहस शुरु भएको छ ।

खनालको बहस सकिएपछि सूर्यदर्शन सहकारीकी संस्थापक उपाध्यक्ष तथा पूर्व सांसद मिना गुरुङ, उनका बुबा कृष्णबहादुर गुरुङ र सूर्यदर्शन सहकारीकी पूर्व कोषाध्यक्ष आरती गुरुङको बहस हुनेछ । जिल्ला अदालत कास्कीमा यी सबैको मुद्दा एकैपटक दायर भएका कारण बहस पनि सबैको सकिएपछि मात्रै क कसलाई थुनामा पठाउने या रिहा गर्ने भन्ने कुराको छिनोफानो हुने अनुमान गरिएको छ । सबैको बहस आजै सक्ने सम्भावना नरहँदा अझै एक दुई दिन लाग्न सक्ने बहसमा सहभागी एक वकिलले जानकारी दिए । रवि पक्षबाट बहस गरेका ती वकिलका अनुसार एकैपटक दायर भएको मुद्दामा एकैपटक आदेश आउने सम्भावना रहन्छ । व्यक्ति हेरेर भन्दा पनि मुद्दा हेरेर अदालतले आदेश दिने भएका कारण एकैपटक सबै प्रतिवादीहरुका विषयमा आदेश हुनेछ ।

हिजो र अस्ती गरेर रविको पक्षबाट ११ जना अधिवक्ताले बहस गरेका थिए । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका रविलाई गैरन्यायिक हिसाबले थुनामा राखिएको र राजनीतिक प्रतिशोध साँधेर ३ वटा मुद्दा लगाइएको भन्दै उनका पक्षका अधिवक्ताहरूले रिहाईको माग गरेका हुन् । रविका पक्षमा डा. नारायण घिमिरे, रोहित बास्तोला, राजेन्द्र सेढाईं, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुनिता राउत, सुदीज्ञ पन्त, सुरज गोले, रमण श्रेष्ठ, सुशीलकुमार पन्त र सुरेन्द्र थापामगरले दुई दिन बहस गरे । उदाउँदो राष्ट्रिय स्वतन्त्र पार्टी र रविलाई सिध्याउनकै लागि हदम्याद सकिइसकेको मुद्दामा गैरन्यायिक तरिकाले पक्राउ गरेर अभियोजन दर्ता गरिएको रविका अधिवक्ताहरूको जिकीर छ ।

प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र प्रहरी प्रमुखसम्मले रवि निर्दोष छन् भन्ने बोलेको भिडियो देखाउँदै प्रतिशोधकै कारण अहिले मुद्दा चलाइएको तर्क उनीहरूको थियो । रविलाई सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

सूर्यदर्शन सहकारी प्रकरणमा रविसहित ७ जना प्रतिवादीको न्यायाधीश नीतिज राईको इजलासमा बहस भइरहेको छ ।

जिल्ला अदालत कास्कीमा बहस भइरहँदा यता सामाजिक सञ्जालमा भने विभिन्न प्रकारका अड्कलबाजी जारी छन् । कतिपयले रवि लामिछाने सहितका व्यक्तिहरु सहकारी प्रकरणमा रिहा हुने दाबी गरिरहेका छन् भने कतिपयले त्यस्तो सम्भावना नभएको जिकिर गरेका छन् ।

जिल्ला अदालत कास्कीमा थुनछेक बहस चल्दै गर्दा यता काठमाडौंमा पनि रवि लामिछाने सहितका व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । कास्कीको मुद्दापछि काठमाडौंको मुद्दामा के हुन्छ भन्ने आम कौतुहलता पनि उत्तिकै रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार