Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

आजै रवि काठमाडौ अदालतमा, के होला अब ?


रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जनाएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए । रविलाई धरौटीमा छाड्न दिएको आदेशमा न्यायाधीश राईले उनी किन कसुरदार छैनन् भन्न सकिँदैन भन्नेमा पर्याप्त आधार प्रस्तुत गरे पनि धरौटी माग्नुको कारणबारे उल्लेख गरेका छैनन् ।

उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने कागज गराई विहीबार उनकी श्रीमती निकिता पौडेलको जिम्मा लगाइएको थियो । कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई निकिताको जिम्मा लगाएको हो ।

जिल्ला अदालत कास्कीमा रवि लामिछानेले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएका थिए । परिवारका सदस्यको रुपमा रवि लामिछानेको जिम्मा लिन उनकी पत्नी निकिता पौडेल पोखरा पुगेकी थिइन् । काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा खेपेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको हो ।

रविसँगै छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँ भने विहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सो सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार राजन खनालले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार