
काठमाडौंको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरू भएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान सुरू भएको हो । बयान सकिएपछि थुनछेक बहस सुरू हुने स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा हाजिर भएका थिए । यसअघि बिहीबार कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा छाडेको थियो ।
उक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी हिरासतमुक्त भएका थिए । स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको अभियोगपत्रमा खुलाइएको छ ।
उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । रवि लामिछाने र जिबी राईको हकमा सहकारीबाट गएको पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ अपचलनको आरोप छ ।
जसमध्ये प्रहरीको हिरासतमा रहेका कमल लामा र सुनिता नेवालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।