
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने फेरि पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएसँग उनी फेरि प्रहरी नियन्त्रणमा परेका हुन् ।
जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो ।आइतबार बिहान आफैं जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानेको अदालतमा बयान सकिएपछि न्यायाधीशले उनलाई प्रहरीको जिम्मा लगाउँन आदेश दिएका थिए । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् ।
अदालतको आदेशसँगै लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा लगिएको छ । अब लामिछानेलाई प्रहरीले नै सोमबार जिल्ला अदालतमा उपस्थित गराउँनेछ । आइतबार लामिछानेको बयान सकिएपनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भने हुन सकेन ।
लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए । उनका वकिलहरूले पनि परिवार वा वकिलको जिम्मामा छाड्न भनेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका हुन्। जिल्ला न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि लामिछानेले– श्रीमानको आदेश स्वीकार गर्छु भनेका थिए ।
थुनछेक बहस नहुँदाको अवस्थामा प्रायः आरोपीलाई प्रहरीलाई नै जिम्मा लगाउने गरिन्छ । रास्वपा सभापति लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
जिल्ला अदालत कास्कीको आदेशपछि रिहा भएका लामिछाने गत शुक्रबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने भनिएपनि उनी आइतबार मात्रै अदालत पुगेका थिए । अब सोमबार लामिछानेको मुद्धाका विषयमा थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि उनलाई रिहा गर्ने या पुर्पक्षका लागि थुनामा पठाउने भन्ने कुराको आदेश आउनेछ ।
यसअघि लामिछाने सुर्यदर्शन सहकारी मुद्दामा कास्की प्रहरी हिरासतमा ८४ दिन बसेका थिए । काठमाडौं जिल्ला अदालतमा भने कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।
सोही मुद्धामा लामिछानेले आइतबार बयान दिएका हुन् ।