
रवि लामिछाने आज तेस्रो पटक थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।
हिजो सार्वजनिक बिदा भएका कारण बहस अगाडि बढ्न सकेको थिएन । आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन बयान सकिए पनि थुनछेक बहस नहुँदा न्यायिक हिरासतमा पठाइएका थिए । सोमबार थुनछेक बहस भयो । तर, जाहेरवाला पक्षका कानुन व्यवसायीको बहस सकिएन । अदालतले कार्यालय समयभन्दा बढी बहस नगराएपछि रवि पुनः न्यायिक हिरासतमा पठाइए ।
मंगलबार सार्वजनिक बिदा भएकाले उनी हिरासतमै राखिए । आज पुनः थुनछेक बहस निरन्तर हुनेछ । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
रवि विरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ ।