Logo
२९ फाल्गुन २०८२, शनिबार
|  Sat Mar 14 2026

रविसँगै कास्कीबाट छुटेका छविलाल काठमाडौंमा अझै भएनन् हाजिर


रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छाड्न आदेश भएलगत्तै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा हाजिर भएर पनि छुटिसकेका छन् ।

अदालतले लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी प्रकरणमा बुधबार ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । तर, लामिछानेसँगै उही मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएका प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी भने हालसम्म अदालत उपस्थित भएका छैनन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक जोशीलाई सूर्यदर्शन सहकारी प्रकरणमा ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो । धरौटी बुझाएर उनी लामिछानेसँगै छुटेका थिए ।

लामिछानेप्रति सरकारले प्रतिशोध साँधेको आरोप लाग्न थालेपछि गृह प्रशासनले रास्वपा सभापति लामिछानेसहित जोशीलाई पनि बाहिरै रहेर आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुने सुविधा दिएको थियो ।

लामिछानेले शुक्रबार बिहान अदालतमा हाजिर हुने भनेका थिए । तर, उनी आइतबार मात्र उपस्थित भए । सहअभियुक्त जोशी चाहिँ बिहीबारसम्म पनि उपस्थित भएका छैनन् । प्रहरी स्रोतका अनुसार, उनी अझै पोखरामै छन् ।

‘पेशीमा चढाउनलाई बिहान १० बजे अगावै प्रतिवादीका तर्फबाट म उपस्थित भएको छु भनेर निवेदन आउनुपर्छ’, अदालतका एक अधिकारीले भने, ‘तर, अहिलेसम्म जोशीको हकमा उहाँ आउनु भएको छैन ।’

पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी जोशी लगायतविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदैछ । उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय, चितवन र पर्साले पनि अनुसन्धान गरिरहेको छ । ‘काठमाडौंबाट जेसुकै आदेश भए पनि उहाँहरु फेरि अन्यत्र उपस्थित हुनुपर्छ’, एक अधिकृतले भने ।

गृह प्रशासनले आफैं हाजिर हुने सुविधा दिएपनि प्रतिवादी उपस्थित नहुनुले आगामी दिनमा यस्तो सुविधा दिँदा पुनर्विचार गर्नुपर्ने जस्तो देखिएको ती अधिकृतले बताए ।

सरकारी वकिलले मुद्दा लैजाँदा छुटिजाने अवस्थामा अन्यत्र अनुसन्धान भइरहेकाले पठाइदिन भन्दै उल्लेख गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार