Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रविविरुद्ध चितवन प्रहरीले बुझायो प्रतिवेदन, के हुन्छ अब ?


रवि लामिछानेविरूद्ध अनुसन्धान गरेर तयार पारेको पूरक प्रतिवेदन चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको जाहेरीमा अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले रविसहित अन्य ३१ जना व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन बुझाएका हुन् । सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ। लामिछाने र छविलाल जोशी गोर्खा मिडियाका सञ्चालक हुन्।

अन्य जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा सेयरधनी हुन्। सहारा चितवन सहकारीबाट नेचर हब्र्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै गत मंसिर ५ गते पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।

यसअघि गत असोज ८ गते पनि प्रहरीले सहारा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

सोही मितिमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।

सहकारीबाट रकम गएको भनिएको गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको ४७ करोड रुपैयाँ बराबरको कारोबार के कसरी, को–कोसँग भएको हो सोको विवरण प्राप्त नदेखिएकाले सो सम्बन्धमा थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले चितवन प्रहरीलाई निर्देशन दिएको थियो।

सहारा चितवन बहुउद्देश्यीय सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय ३४ छन्। कुल बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !
विचार