Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रवि हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने डा. निकोलस छुटे धरौटीमा


रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् । उनी शुक्रबार ५० हजार धरौटी बुझाएर छुटेका हुन् ।

भुसालले गत २९ मंसिरमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सुतिरहेको फोटो सिसि क्यामेराबाट खिचेर सार्वजनिक गरेका थिए ।

विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश शंकरबहादुर राईको इजलासले डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।

यसअघि ७ पुसमा पक्राउ गरी त्यसको भोलिपल्ट पोखरा पुर्‍याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो । प्रहरी अनुसन्धानका क्रममा तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गर्दै डा. भुसाललाई अदालत उपस्थित गराइएको थियो ।

विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पुर्‍याउने, गोपनीयता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामा प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग भुसालमाथि लगाइएको थियो । हिरासतको फोटो सार्वजनिक भएको यो पहिलो पटक पनि भएकाले अन्त यस्तो नजीर नहुँदा पनि अन्जान भएकाले एक पटक माफी हुनुपर्ने उनीतर्फका अधिवक्ता विमल लामिछाने र मनोज घर्तीमगरले बहस गरेका थिए ।

सरकारी वकिलको तर्फबाट बहस गरेका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको व्यक्तिको फोटो सार्वजनिक गर्नु पनि अवराधै भएको र यसले सुरक्षा संयन्त्रमा असर पारेकाले पनि कारबाही गर्नुपर्ने दाबी गरेका थिए ।

भुसाल २९ मंसिरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न पुगेका थिए । रविसँग व्यक्तिगत भेटघाट र स्वास्थ्य सल्लाह दिन भनेर गएका भुसालले सिसी टिभी मनिटरबाट फोटो खिचेका थिए ।

त्यही फोटोलाई राखेर भुसालले रविको पक्षमा चितवनमा उपस्थित हुन आह्वान गर्दै लेखेका थिए । त्यो पोस्ट ३ पुसमा भाइरल भएपछि सबैको ध्यान केन्द्रित भएको थियो भने प्रहरी प्रशासनको पनि आलोचना बढेको थियो । भुसालले आफूले त्यो फोटो अञ्जानमा खिचेको त्योबेला पनि बताएका थिए ।

‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन भ्रममा नपर्न अनुरोध गर्दछु । म स्वास्थ्य अवस्था बुझ्न र हौशला प्रदान गर्न गको थिएँ भन्ने स्टाटस लेखेर पोष्ट गरेको हुँ,’ उनले बयानमा पनि भनेका थिए ।

उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अदालतले भनेको र केही तथ्य प्रमाण भेटिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार