
कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीविरुद्ध सुप्रिम सहकारीको रकम अपचलनमा आज रुपन्देहीमा मुद्दा दर्ता गरिने भएको छ ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले आज नै मुद्दा दर्ताको तयारी भएको जनाएका । उनका अनुसार लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी छ ।
रवि लामिछाने र छविलाल जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोगमा ४ करोडमाथि बिगो माग दाबी गरिने बताइएको छ । यसैबीच रवि लामिछाने भोलि थुनछेक बहस तथा बयानका लागि सोमबार जिल्ला अदालत भैरहवा जाने भएका छन् ।
बहसका निम्ति कानून व्यवसायी पनि साथमा लिएर रवि भैरहवा जान लागेका हुन् । को–को कानून व्यवसायी लैजाने भन्ने बेलुकीसम्म टुंगो लाग्ने उनी निकट स्रोतले जनाएको छ । सुप्रिम सहकारी ठगीमा विहीबार १७ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा थप अभियोग दर्ता भइसकेको थियो ।
गितेन्द्रबाबु राई (जीबी) हित २८ जनाविरुद्ध यसअघि नै अभियोग दर्ता भए पनि यीमध्ये १७ जनाविरुद्ध कसुर र बिगो बढाएर थप अभियोग दर्ता गरिएको जनाइएको छ ।
यसअघि लामिछाने र जोशीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएको थियो ।
लामिछाने ६५ लाख र जोशी ८८ लाख धरौटीमा रिहा भएका थिए । त्यसलगतै लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर थुनछेक बहस सकिएको छ । तर, जोशी भने आज मात्रै अदालतमा उपस्थित भएका छन् । उनको बयान तथा थुनछेक बहस भइरहेको जनाइएको छ ।
उनीहरूलाई कास्की प्रहरीले रिहा गर्दा आफैँ काठमाडौं प्रहरी वा अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको थियो । लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा ६० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । उनी अदालतले माग गरेको धरौटी बुझाएर बिहीबार नै हिरासतमुक्त भइसकेका छन् ।
त्यसपछि चितवनको साहारा चितवन र पर्साको सानोपाइला सहकारी प्रकरणमा पनि उनीहरू दुवैजनाविरुद्ध मुद्दा चलाउने तयारी छ । दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएका छन् ।