Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रित्तो गाग्री बोकेर प्रधानमन्त्री भेट्न काठमाडौं आए हर्क साम्पाङ


धरानका मेयर हर्क साम्पाङ खाली गाग्री लिएर काठमाडौं आइपुगेका छन् । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै साम्पाङ प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न खाली गाग्री बोकेर काठमाडौँ आएका हुन् । सोमबार काठमाडौँ आएका उनी मंगलबार सिंहदरबार जाने छन् ।

धरानमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको एजेण्डा बोकेर निर्वाचित भएका स्वतन्त्र मेयर हर्क साम्पाङले निर्वाचित भएदेखि नै श्रमदानबाट खानेपानीको नयाँ स्रोतहरू थपे पनि अहिले धराने जनता पानी नपाएर काकाकुल भएका छन्। श्रमदानबाट पानी ल्याएपनि बर्खे खोलाहरुको स्रोत मात्र थपेको तर, सुख्खा याम सुरु हुना साथ पानीको अभाव हुन थालेको भन्दै मेयर साम्पाङको चर्को आलोचना समेत भइरहेको छ ।

आफ्नै आलोचनाका बिच साम्पाङ रित्तो गाग्री बोकेर प्रधानमन्त्री ओली र खानेपानी मन्त्री यादवलाई भेट्न काठमाडौं आएका हुन् । साम्पाङ निर्वाचित भएपछि साम्पाङको अगुवाईमा को–काहा खोलाको पानी ल्याउन श्रमदान अभियान चलाइएको थियो । श्रमदानबाट धरानमा पानी ल्याइएपनि सुख्खा याम सुरु हुनासाथ पानी सुक्ने र अभाव हुन थालेको स्थानीयहरुको भनाइ छ ।

खानेपानी अभाव हुँदा गत वर्ष वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विद्यार्थीहरुलाई एक साताको बिदा समेत दिएको थियो । धरानमा खानेपानी वितरण गर्ने जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डको रहेको छ।

यसको अध्यक्ष मेयर आफै रहेका छन्। विगतका वर्षहरुमा पानी अभाव हुँदा स्थानियहरुले निकै दुख पाएका कारण पनि यस वर्ष खडेरी सुरु नहुँदै धरान खाने पानी अभावको समस्या राख्न काठमाडौं आएको मेयरको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार