Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

रविलाई थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालय पुग्यो उच्च अदालत


रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट भएको आदेश विरुद्ध सरकारी वकिल कार्यालयले उच्च गुहारेको हो । मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित अरु सात जना धरौटीमा रिहा भएका थिए । उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेले उच्चमा निवेदन दर्ता भएको जनाएकी छिन् । ‘जिल्ला अदालतबाट भएको आदेश चित्त नबुझेपछि उच्च अदालत गएका हौँ,’ उनले भनिन्, ‘अब यो केस उच्चमा दर्ता भएको छ ।

सातै जनाले धरौटी बुझाएर रिहा भैसकेका छन् । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

यस्तै, पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख, लीला पछाइलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्व सांसद मिना गुरुङलाई ५ लाख, मिनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो ।

उनीहरु सबै धरौटी रकम बुझाएर छुटेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार