
रित्तोे गाग्री बोकेर सिंहदरबार छिर्न खोजेका धरान उपमहानगरका मेयर हर्क साम्पाङको हातबाट प्रहरीले गाग्री खोसेपछि तनाव भएको छ । साम्पाङ रित्तो गाग्री बोकेर सिंहदरबार छिर्ने सुचना पाएका प्रहरी मंगलबार बिहानैदेखी सिंहदरबारको पूर्वी, दक्षिण र पश्चिम गेटमा तैनाथ भएका थिए । साम्पाङको साथबाट प्रहरीले गाग्री खोसेपछि केहिबेर तनाव भएको हो ।
धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार छिर्न लागेका हुन् । गाग्री खोसेको प्रहरीले उनलाई सिंहदरबार प्रवेश गर्न भने दिएको छ ।
सरकारले धराने जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै उनी दबाबमा उत्रिएका हुन् । मेयर साम्पाङ सोमबार नै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका थिए । हिजो अबेर काठमाडौं आइपुगेको हुनाले उनी आज सिंहदरबार गएका हुन् ।
उनले रित्तो गाग्री बोकेर सिंहदरबार छिर्दैछु भनेर स्टाटस लेखेका थिए । हिजो सोमबार नै उनी काठमाडौं आइपुगिसकेका हुनाले आज बिहानैदेखि प्रहरीले सिंहदरबार पूर्वी, दक्षिण र पश्चिम गेट मा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
धरानमा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको एजेण्डा बोकेर निर्वाचित भएका स्वतन्त्र मेयर हर्क साम्पाङले निर्वाचित भएदेखि नै श्रमदानबाट खानेपानीको नयाँ स्रोतहरू थपे पनि अहिले धराने जनता पानी नपाएर काकाकुल भएका छन्।
श्रमदानबाट पानी ल्याएपनि बर्खे खोलाहरुको स्रोत मात्र थपेको तर, सुख्खा याम सुरु हुना साथ पानीको अभाव हुन थालेको भन्दै मेयर साम्पाङको चर्को आलोचना समेत भइरहेको छ । आफ्नै आलोचनाका बिच साम्पाङ रित्तो गाग्री बोकेर प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्न काठमाडौं आएका हुन् ।
साम्पाङ निर्वाचित भएपछि साम्पाङको अगुवाईमा को–काहा खोलाको पानी ल्याउन श्रमदान अभियान चलाइएको थियो । श्रमदानबाट धरानमा पानी ल्याइएपनि सुख्खा याम सुरु हुनासाथ पानी सुक्ने र अभाव हुन थालेको स्थानीयहरुको भनाइ छ ।
खानेपानी अभाव हुँदा गत वर्ष वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विद्यार्थीहरुलाई एक साताको बिदा समेत दिएको थियो । धरानमा खानेपानी वितरण गर्ने जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डको रहेको छ। यसको अध्यक्ष मेयर आफै रहेका छन्।
विगतका वर्षहरुमा पानी अभाव हुँदा स्थानियहरुले निकै दुख पाएका कारण पनि यस वर्ष खडेरी सुरु नहुँदै धरान खाने पानी अभावको समस्या राख्न काठमाडौं आएको मेयरको भनाई छ ।