
रवि लामिछानेविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुरु भएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीमा आज थुनछेक बहस सुरु भएको होे । बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो ।
रविविरुद्धको मुद्दा जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस सुरु भएको जनाइएको छ । पक्ष विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।
सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । पुरक अभियेजनामा १४ जना प्रतिवादी बनेका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो ।
यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।