Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

देउवासँग मिलेर अगाडी बढ्ने प्रचण्डको इच्छा, भने अहिलेको सरकार धेरै टिक्दैन


नेकपा –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्ती चलेको बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकार प्रति आफूले पहिला नै अनुमान गरेको कुरा नै लागू भएको बताए ।

उनले भने, ‘आफूले अनुमान गरेको कुरा नै लागू भएको छ । यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिए । प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ । ’

सरकार प्रति कुनै अभिरुचि नभएको उल्लेख गर्दै उनले कांग्रेससँग सहकार्य हुन सक्ने संकेत गरे । उनले भने, ‘अध्यादेशमै बढी जोड गरेपछि हामीले विपक्षहरूको तर्फबाट अभिलम्ब चाहिँ सदन बोलाइएन भने हामीले विशेष अधिवेशन बोलाउने भनेपछि मात्रै सरकारले १८ गते अधिवेशन राख्ने भएको छ ।

नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढ‍ंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शेखर जीहरुसँग भेट हुँदा के कुरा भएको थियो त्यो हुनसक्छ । ’

अहिलेको सरकारले भ्रष्ट्राचारी र आना मान्छे बचाउने, राम्रो काम गर्ने संस्था र व्यक्तिमाथि आक्रमण गर्ने काम गरेको समेत प्रचण्डको आरोप छ । ‘यी सबैको समीक्षा आगामी अधिवेशनमा मैले गर्ने वाला नै छु’, उनले भने ।

संविधान र जनताको भावनाविपरीत अहिलेको सरकार गठन भएकोले धेरै पर नजाने उनको दाबी थियो । तर, आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार