
बालेन शाह नेतृत्वको काठमाडौं महानगरपालिकाले चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) का सन्दर्भमा ठमेलमा नेपालस्थित चिनियाँ दूतावासले आयोजना गर्न लागेका कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ ।
चिनियाँ दूतवासका डपुटी चिफ अफ मिसन वाङ सिनले एकसाता अघि काठमाडौं महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए ।
पत्रमा काठमाडौं महानगरपालिकालाई सह–आयोजक बस्न समेत प्रस्ताव गरिएको थियो ।लगत्तै नेपाल ओभरसिज चाइनिज एशोसिएसनले पनि यो अवधिका लागि काठमाडौंको रत्नपार्कमा समेत निःशुल्क स्थान उपलब्ध गराइदिन महानगरलाई पत्र लेखेको थियो । पत्रमा बिजुली, यातायात र पार्किङका लागि सहजीकरण गरिदिन भनिएको थियो ।
तर, काठमाडौं महानगरले ट्राफिक व्यवस्थापनको चुनौति र अस्तव्यस्तताको कारण उल्लेख गर्दै ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न भन्दै जवाफ पठाएको छ ।
पत्रमा महानगरले ‘विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंको पर्यटन प्रवद्र्धन गर्ने हिसाबले २०२५ स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्ष ल्यान्टिन शो आयोजना गर्न लागेकामा’ धन्यवाद दिँदै स्थान परिवर्तन गरेर अन्यत्र कार्यक्रम गर्न सुझाएको छ ।
अघिल्ला वर्षहरुमा पनि चिनियाँ दूतावास आयोजक भएर गरिने यो कार्यक्रममा काठमाडौं महानगरपालिका सहआयोजक हुने गरेको थियो । तर, यसपटक अनुमति नदिनुका पछाडि बाहिरी चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले गरेको ढिलासुस्ती कारण रहेको मेयर बालेन शाहको सचिवालय स्रोतले जनाएको छ ।
‘चिनियाँ कम्पनीका कारण समस्या भएको विषयमा सधैं गुनासो भइरहने तर, समाधान नभएकाले सांकेतिक विरोध गर्न समेत खोजिएको स्रोतको भनाई छ ।चिनियाँ दूतावासले पठाएको पत्रमा जनवरी २६ देखि डिसेम्बर ३१ सम्म ठमेल लाइट अप–२०२५ कार्यक्रम अन्तरगत ३०० भन्दा बढी रातो लालटिन राखेर ठमेलका सडकहरु सिँगारिने समेत भनिएको थियो ।
त्यसवापतको शुल्क नेपालस्थित चिनियाँ दूतावास र नेपाल ओभरसिज चाइनिज एसोसिएनले गर्ने भनिएको थियो ।