Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

आशिकाविरुद्ध भक्तपुर आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर


आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गरेको हो ।

मंगलबार उनीविरुद्ध बयान र थुनछेक बहस भएन । शुक्रबार उनलाई बयान र थुनछेकको लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

आशिका सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी बुझाएर छुटेपछि पुनः पक्राउ परेकी थिइन् । उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको थियो ।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ ।

सूर्यविनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो । तामाङ यही माघ २ गते काठमाडौंको स्वयम्भूबाट पक्राउ परेकी थिइन् । तामाङ बिभिन्न बेथितिविरुद्ध सार्वजनिक रूपमा अभद्र व्यवहारमा उत्रिएकी थिइन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा उनी भाइरल बनेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार