
अमेरिकाबाट निकालिने नेपालीहरुको लिस्ट सार्वजनिक भएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाड ट्रम्प निर्वाचित भएपछि अवैद्य बाटो हुँदै अमेरिका पुगेका सबै आप्रवासीहरुलाई देश निकाला गर्न लागेका हुन् ।
पहिलो चरणमा अमेरिकाले १३६५ जना नेपालीहरुलाई नेपाल फर्काउन लागिएको विवरण सार्वजनिक गरेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्नेछन् । ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् । होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।
चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।