Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

बिरामी बोकेर खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, तीन जनाको मृत्यु


बिरामी बोकेर खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय खोेटाङले जनाएको छ । उनीहरु तीनैजना एकै परिवारका हुन् ।

प्रहरीका अनुसार आमा मायादेवी आगोले पोलेर गम्भीर घाइते भएकी थिइन् । खोटाङमै उपचार सम्भव नभएपछि मायादेवीलाई उपचार गर्नका लागि उनकी बहिनी तारा र छोरा पुजनले ना १ ज ६४२१ नम्बरको सुमो गाडीमा काठमाडौं लिएर आएका थिए ।

उक्त सुमो ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित वडा नम्बर ६ र ७ को सीमानामा पर्ने भँडारे खोलामा रातको साढे १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । राति नै दुर्घटना भएपनि प्रहरीले बिहान मात्रै सुचना पाएका थिए ।

स्थानीयहरुले खबर गरेपछि मात्रै बिहान प्रहरी घटनास्थल पुगेका थिए । अहिले शव पोस्टमार्टमका लागि नजिकैको अस्पताल लगिएको जनाइएको छ ।

दुर्घटनापछि सुमो चालक २२ वर्षीय अनिल पण्डित भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार